सगरमाथा संवादको अन्तिम तयारीमा छौँ : परराष्ट्रमन्त्री राणा

सगरमाथा संवादको अन्तिम तयारीमा छौँ : परराष्ट्रमन्त्री राणा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपालले आयोजना गरेको सगरमाथा संवादको पहिलो संस्करणको अन्तिम तयारीमा नेपाल सरकार रहेको जानकारी दिएकी छिन्।

मन्त्री डा. राणाको अध्यक्षतामा शुक्रबार परराष्ट्र मन्त्रालयमा बसेको सगरमाथा संवाद व्यवस्थापन समितिको बैठकमा उनले नेपालले यस्तो अन्तर्राष्ट्रिय सम्मेलन पहिलो पटक गर्न लागेको र एक स्थायी कूटनीतिक फोरमका रुपमा बर्षेनी आयोजना गर्ने निर्णय गरिसकेकोले यस कार्यक्रमलाई नेपालका लागि अत्यावश्यक तथा प्रभावकारी फोरमका रुपमा विकास गर्नेगरी परराष्ट्र मन्त्रालयले मेहनत गरिरहेको बताइन्।

जलवायु परिवर्तन, हिमाल र मानव जातिको भविष्यका विषयमा केन्द्रित रहेर यही मे महिनाको १६ देखि १८ सम्म काठमाडौँमा आयोजना गरिएको यस कार्यक्रम अन्तर्राष्ट्रिय स्तरमा नेपालको उपस्थितिका लागि एक महत्वपूर्ण प्लेटफर्म भएकाले सरकारले यसलाई सफल पार्न लागिपरेको जानकारी मन्त्री डा. राणाले दिइन्।

उनले जलवायु परिवर्तनसँग सम्बन्धित क्षेत्रीय र विश्वव्यापी महत्वका गम्भीर मुद्दाहरूमा छलफल गर्न विश्वव्यापी संवाद मञ्चका रुपमा सगरमाथा संवादको सुरुआत गरेको र यसबर्षको यो पहिलो संस्करण रहेको पनि स्पष्ट पारिन्।

मन्त्री डा. राणाले यस संवादमार्फत् जलवायु परिवर्तनबाट प्रभावित समुदाय, वैज्ञानिक, नीति निर्माता, पर्वतारोही, विश्वका नेताहरू एवं अन्तर्राष्ट्रिय संघसंगठनहरुलाई छलफल र प्रतिबद्धताका लागि एकसाथ ल्याउने प्रयास नेपालले गरेको पनि बताइन्।

सगरमाथा संवादको पहिलो संस्करणको व्यवस्थापन समिति संयोजक रहेकी मन्त्री डा राणाले अन्तर्राष्ट्रिय समुदायको उच्चस्तरीय सहभागिता गराउने प्रयास गरिएको र उत्साहजनक रुपमा उनीहरुले सहभागिताको सुनिश्चित पनि गरेको जानकारी दिइन्।

बैठकमा वन तथा वातावरण मन्त्री ऐनबहादुर शाहीले पनि आफ्ना मन्त्रालयले सगरमाथा संवादको अन्तिम तयारी गरिरहेको जानकारी गराएका थिए। परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राइले सगरमाथा संवादको तयारीका लागि भइरहेका कामहरुका बारेमा जानकारी गराएका थिए।

सो अन्तर्राष्ट्रिय मञ्चमा अहिलेसम्म करिब दुई दर्जन मुलुकका उच्चस्तरीय प्रतिनिधि तथा ५० भन्दा बढी विभिन्न अन्तर्राष्ट्रिय संघसंगठनहरुले सहभागिताको सुनिश्चितता गरेका छन्।