प्रशासन क्षेत्रमा नयाँ तरंग, महानिर्देशक सहसचिवसहित ५६ को सरुवा


काठमाडौं- सरकारले केन्द्रमा कार्यरत रहँदै आएका विभिन्न मन्त्रालय, निकायका वरिष्ठ सहसचिव र विभागका महानिर्देशकहरूलाई एकैपटक प्रदेशका मन्त्रालयमा सरुवा गरेको छ । आधा दर्जन बढी विभागका महानिर्देशकहरू एकैपटक सरुवामा परेका छन् ।

केन्द्रीय सरकारको महŒवपूर्ण निकायमा कार्यरत रहेका प्रशासन सेवामा २७, वन, कृषि, इन्जिनियरिङ र कानुनतर्फका सात–सात जना गरी ५६ जनाभन्दा बढी वरिष्ठ सहसचिवको एकैपटक सरुवा भएपछि निजामती क्षेत्रमा तरंग सिर्जना भएको छ ।

६ महिनाभित्र सचिव बढुवा हुने लाइनमा रहेका र ६ महिनाभित्रै सेवा निवृत्त हुने अवस्थामा रहेका वरिष्ठ सहसचिवबाहेक अन्य सबैलाई योग्यताक्रमअनुसार नै सरुवा गरिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जानकारी दिएको छ ।

प्रदेशका मन्त्रालयमा सचिव बनाएर पठाइएका सबै सहसचिवलाई हाल पाइरहेको सेवा–सुविधामा एक जना खरिदारले पाउने तलब बराबरको अतिरिक्त तलब वृद्धि हुने मन्त्रालयले जनाएको छ । उनीहरूलाई एक वर्षका लागि मात्रै सरुवा गरिएको हो । एक वर्षपछि उनीहरू बढुवा भएर केन्द्रीय मन्त्रालयमा सचिवकै रूपमा आउनेछन् ।याे खबर राजधानी दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement