शहीद सप्ताह सुरु

शहीद सप्ताह सुरु


काठमाण्डु- विभिन्न राजनीतिक आन्दोलनका क्रममा जीवन बलिदान दिने शहीदहरूको सम्झनामा बिहीवारबाट शहीद सप्ताह सुरू भएको छ ।

टेकुस्थित पचलीमा रहेको शहीद शुक्रराज शास्त्रीको सालिकमा माल्यार्पण गर्दै शहीद सप्ताह सुरू भएको हो ।

त्यस अवसरमा काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले शहीद शास्त्रीको सालिकमा माला र पुष्पगुच्छा अर्पण गरिन् ।

विसं १९५० मा वनारसमा जन्मिएका शुक्रराज शास्त्री धार्मिक गतिविधिमार्फत जहानियाँ शासनविरुद्ध जागरण अभियानमा सक्रिय थिए । उनलाई काठमाडौंको इन्द्रचोकबाट पक्राउ गरी जेलमा राखिएको थियो । राणा सरकारले उनलाई १९९७ माघ १० गते टेकु पचलीस्थित खरीबोटमा झुण्ड्याएर मृत्युदण्ड दिएको थियो ।

शास्त्रीको श्रद्धाञ्जलीसभा भएको उक्त स्थानलाई २०३५ मा तत्कालीन काठमाडौं नगर पञ्चायतले शिलालेख राखी संरक्षण गरेको हो ।
यस्तै माघ १३ गते सिफलमा धर्मभक्त माथेमा तथा माघ १५ गते दशरथ चन्द र गंगालाल श्रेष्ठलाई शोभाभगवतीमा गोली हानी मृत्युदण्ड दिएका थिए ।

सात दिन शहीद सप्ताह मनाएपछि माघ १६ गते शहीद दिवस मनाउने गरिन्छ । कार्यक्रममा बोल्दै काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले इतिहासको सम्मान गर्नुपर्ने बताइन् ।