काठमाण्डु– दक्षिण सुडानस्थित संयुक्त राष्ट्रसंघीय मिसनमा तैनाथ नेपाली शान्ति सैनिकहरुको अदलीबदली भएको छ । राष्ट्रसंघीय मिसनको चौधौँ डफ्फाका १७५ जना शान्ति सैनिकहरूको टोली मिसन इलाकातर्फ प्रस्थान गरेको हो ।
सेनानी पूर्ण बहादुर चन्दको नेतृत्वमा संयुक्त राष्ट्र संघको चार्टर्ड विमानद्वारा मिसन इलाकातर्फ प्रस्थान गरेका हुन् । प्रमुख सेनानी सुरेश देवकोटाको कमाण्डमा रहेको सो गणका ५२५ जना शान्ति सैनिक यस अगावै मिसन इलाका पुगिसकेका छन् ।
सोही मिसनमा आफ्नो कार्यकाल सम्पन्न गरी तारादल गण (शान्ति सेना) तेह्रौँ डफ्फाका १७५ जना शान्ति सैनिकहरूको अन्तिम टोली प्रमुख सेनानी अनिल केसीको नेतृत्वमा आश्विन १४ गते स्वदेश फिर्ता भएका छन् ।
दक्षिण सुडानमा रहेको संयुक्त राष्ट्र संघीय शान्ति मिसनमा नेपाली सेनाको दुई वटा गण, एउटा गुल्म सहित कुल १ हजार ७ सय ५६ जना शान्ति सैनिक कार्यरत छन् ।
प्रतिक्रिया