साईपाल हिमाल आरोहण गर्न बिदेशी सहितको टोली बझाङ प्रस्थान (फोटोफिचर सहित)


गोविन्द रोस्यारा

धनगढी – सुदूरपश्चिम प्रदेशको बझाङ जिल्लामा रहेको साइपाल हिमाल आरोहण गर्ने पर्यटक टोलीलाई धनगढीमा स्वागत गरिएको छ । झण्डै २८ जनाको आरोहण टोली धनगढी हुदैं बझाङ प्रस्थान गरेका छन् ।

साइपाल हिमाल आरोहणमा जान बिहीबार धनगढी आइपुगेको टोलीलाई सुदुरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री माया भट्टले नेपाली झण्डा दिएर धनगढीबाट विदाइ गरेकी छिन ।आरोहण टोलीलाई शुभकामना दिँदै मन्त्री भट्टले पाँच बर्षअघि आरोहणका लागि खुला गरिएको साईपाल हिमाललाई चिनाउन गरिएको प्रयास प्रशंशनिय भएको समेत बताईन् ।

यस्तै टोलीलाई पूर्वमन्त्री एबम नेकपाका स्थायी कमिटी सदस्य लेखराज भट्टले पनि स्वागत बिदाई गरेका छन् । आफ्नै निवासमा पुगेको टोलीलाई भट्टले खांदा र माला लगाएर सम्मान गर्दै भने -’यो मिसन साईपाल अभियानले यस प्रदेशको पर्यटन बिकासमा ठुलो योगदान पुर्याउने छ’।भट्टले भने टोलीलाई केन्द्र सरकार र प्रदेश सरकारले पूर्ण सहयोग गर्ने बताए । टोलीमा अमेरिका, फ्रान्स ,स्पेन लगाएतका देशहरु प्रख्यात हिमाल आरोहीहरु रहेको मिसन साईपाल अभियानका संयोजक भोजराज भाटले जानकारी दिए ।

त्यस्तै टोलीमा ४ जना बझाङका किशोरीहरु र ४ जना शेर्पाहरु पनि रहेका छन् । साइपाल गाउँपालिका वडा नम्बर ४ की २० बर्षिया संगिता रोकाया, साइपालकै वडा नम्बर ३ की २६ बर्षिया लक्ष्मी बुढा, तल्कोट गाउँपालिका १ की सरस्वती थापा, सुर्मा गाउँपालिका ३ की पवित्रा बोहरा साइपाल आरोहण गर्दैछन। उनीहरुले हिमाल आरोहण सम्बन्धी झन्डै ४५ दिनको अभ्यास कोर्श पनि लिईसकेका छन् ।

झण्डै ३५ दिन लगाएर गरिने उक्त आरोहणको उदेश्य यस क्षेत्रको पर्यटन बिकासको लागी भएको अभियानकर्मी भाटले बताए । साईपालको बेसक्याम्प पुग्न ५ दिन लाग्ने छ । सात हजार ३१ मिटरको उचाईमा रहेको साइपाल हिमालमा पहिलो पटक आरोहण को प्रयास शुरु भएको हो ।

प्रतिक्रिया दिनुहोस
Advertisement