शाहरुखसंग एउटै फ्रेममा देखिनेबारे सलमानले भनेः हामीलाई मिल्ने कथा र झेल्ने निर्माता चाहियो


एजेन्सी – बलिउडमा शाहरुख खान र सलमान खानको चर्चा निकै हुने गर्छ । जब यी दुई कुनै इभेन्टका लागि सँगै हुन्छन्, व्यापक गसिप र चर्चा हुन्छ ।

पछिल्लो समय सलमानले शाहरुखलाई सहयोग गरिरहेका छन् । केही समय अगाडि कट्रिना कैफको जन्मोत्सव मनाउने क्रममा दुश्मनी साँधेका यिनले पछिल्लो समय संघर्ष समयको मित्रतालाई अपनाइसकेका छन् । शाहरुख अभिनित तथा निर्मित फिल्म ‘जिरो’ मा सलमान देखिए । त्यसअगाडि सलमानको ‘ट्युबलाइट’ मा शाहरुख देखिएका थिए ।

पछिल्लो समय शाहरुखको फिल्म ‘पठान’ मा सलमान टाइगर अवतारमा प्रस्तुत हुँदैछन् । यद्यपि दर्शकले यी दुईलाई समानान्तर रुपमा हेर्ने चाहना भने अझै पूरा हुन सकेको छैन । यी दुईले करण अर्जुन, कुछ कुछ होता है र हम तुम्हारे है सनम जस्ता फिल्ममा सँगै काम गरेका छन् । सन् २००२ मा सँगै देखिएको सलमान र शाहरुखको जोडीलाई दर्शकले देख्न नपाएको झन्डै दुई दशक भइसकेको छ ।

एक इभेन्टमा सलमानलाई शाहरुखसँग देखिनेबारे प्रश्न गर्दा उनले कथा नभएको बताए । ‘मलाई र शाहरुखलाई सँगै अभिनय गराउने निर्माता नै छैनन्,’ उनले भने, ‘हामीलाई हुने कथा चाहियो अनि झेल्ने निर्माता ।’ उनले आफूहरु फिल्ममा एकसाथ नदेखिए पनि केमियो भूमिकामा भने आउने जनाए । यशराज ब्यानरले निर्माण गरिरहेको टाइगर फ्रेन्चाइजमा शाहरुख पनि देखिनेछन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement