सल्यानको दार्मामा विद्युत पुगेपछि ऊर्जामन्त्री पुनको भव्य स्वागत, २ वर्षभित्र कर्णाली उज्यालो बनाउने घोषणा (भिडियो)


सल्यान– सल्यान जिल्लाको दार्मा गाउँपालिकामा पहिलो पटक विद्युत पुगेपछि स्थानीय बासिन्दाले ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन ‘अनन्त’ को भव्य स्वागत गरेका छन्।

गाउँमा विद्युत पुगेपछि हर्षित भएका स्थानीय बासिन्दाले मन्त्री पुनलाई बाजागाजा, फूलमालासहित भव्य स्वागत गरेका हुन्। गाउँमा विजुली बल्ने भएपछि खुसी भएका हजारौँ बासिन्दा उद्घाटनस्थल पुगेका थिए । गाउँपालिकामा विजुली पुगेपछि स्थानीय बासिन्दा नाचेका थिए। विद्युत सेवाको बुधबार मन्त्री पुनले उद्घाटन गरे।

  मन्त्री पुनले २ वर्षभित्र कर्णालीलाई पूर्ण उज्यालो बनाइने घोषणा गरे। सरकारले जलविद्युत आयोजना निर्माणलाई प्राथमिकता दिएको उल्लेख गर्दै मन्त्री पुनले कोही पनि नागरिक विद्युत सेवाबाट बञ्चित नहुने बताए। मन्त्री पुनले विकासलाई प्राथमिकतामा राखिएको बताए। त्यसका लागि संघ सरकारले सहयोग गर्ने र प्रदेश, स्थानीय सरकार पनि लाग्नुपर्ने उनको भनाइ छ।

गाउँपालिकाका अध्यक्ष नीमबहादुर केसीका अनुसार गाउँपालिकाका ४ वटा वडा (वडा नम्बर १, २, ३ र ४ ) मा विद्युत पुगेको हो। ‘हाल ८२ घरपरिवारले मिटर जडान गरेका छन्,’ उनले भने, ‘तर २ हजार ३ सय घरपरिवारलाई पुग्ने गरी विद्युतको क्षमता छ।’

विद्युत संघ सरकार र गाउँपालिकाको लागतमा पुगेको हो। जसमा संघ सरकारको १ करोड ५२ लाख ५० हजार र गाउँपालिकाको १ करोड १५ लाख लगानी छ।

यसअघि गत वर्ष कुमाख गाउँपालिकामा विद्युत पुगेको थियो। सोही क्रममा दार्मा दार्मा गाउँपालिकाको वडा न ६ चिप्ले बाहुन गाउँका १६ घरधुरीमा पनि बत्ति बलेको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement