भ्रष्टाचार आरोपमा समाज कल्याण परिषदका सदस्यसचिव भट्ट निलम्वित


काठमाडौं -समाज कल्याण परिषदका सदस्यसचिव डिल्लीप्रसाद भट्ट भ्रष्टाचार आरोपमा निलम्वित भएका छन् । महिला, बालबालिका तथा समाज कल्याण परिषदले भट्टलाई निलम्बन गरेको जनाएको छ । भट्ट निलम्वनपछी सदस्यसचिवको जिम्मेवारी बीरबहादुर राईलाई दिएको छ । राई मन्त्रालयका सहसचिव हुन् ।
‘सदस्य सचिव विरुद्ध पदको दुरुपयोग गरेर भ्रष्टाचारजन्य काम गरेको गोप्य उजुरी परिषदमा परेको थियो । भट्टका आरोपका विषयमा छानवीन समति बनाई अनुसन्धान भइरहेको जनाइएको छ ।

सदस्य भट्टले दातृ निकायसँग रकम माग्ने गरेको, परिषदका लागि गाडी खरिद गर्दा लाखौं कमिसन लिने गरेको, परिषदका कम्प्युटर, फ्रिज जस्ता सामान आफ्नो घर लैजाने गरेको, भृकुटीमण्डपस्थित फनपार्क मेला सञ्चालकसँग मिलेमतो गरेर मासिक रकम असुल्ने गरेको, परिषदको बैठकका निर्णय केरमेट गरी सच्याउने गरेको लगायतका उजुरी महिला बालबालिका मन्त्रालय परेको छ ।

मन्त्रालय मातहत भए पनि समाजकल्याण परिषद आकर्षक र शक्तिशाली मानिन्छ । राजनीतिक नियुक्ति, अर्बौं बजेट भएका आईएनजीओ र एनजीओहरूको अनुगमन, नियमन तथा कार्यक्रम स्वीकृति परिषदले गर्दछ ।

यसैगरी परिषद् मातहत रहेको भौतिक संरचनामा चलखेल गर्न पाइने र कार्यकर्ता भर्ती गर्न पाइने भएकाले परिषदमा धेरैको आकर्षण हुने गरेको छ । समाज कल्याण परिषदमा  कमाईका रुपले पनि कर्मचारीहरु सरुवा गरी परिषदमा  आउने गर्दछन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement