समाजवादीका प्रदेश अध्यक्षद्धारा पार्टी परित्याग, मन्त्री र सांसद नै एमाले फर्कने तयारीमा


कंचनपुर— नेकपा एकीकृत समाजवादीका सुदूरपश्चिम प्रदेश अध्यक्ष विक्रमबहादुर शाहीले पार्टी परित्यागको घोषणा गरेका छन् । शाही समाजवादीका प्रभावशाली नेता हुन् । यसअघि एमालेको केन्द्रीय सदस्य रहेका शाही पार्टी विभाजनपछि समाजवादीतर्फ लागेका थिए ।

प्रधानमन्त्री शेरबहादुर देउवासंग यसअघि निर्वाचन लडेका शाही तत्कालिन एमालेभित्र लाभको पद प्राप्त नगर्ने नेतामध्ये एक हुन् । उनले विगत ५/६ महिनादेखि पार्टी काम छाडेर निष्क्रिय रहेको भन्दै आजबाट कुनै दलसँग आवद्ध नरहेको घोषणा गरेका छन् ।

सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै उनले भनेका छन्, ‘ २०५४ सालमा बामदेब ले “फुट्बाट पनि शक्ति प्राप्त हुन्छ “ भन्दै पार्टी बिभाजन गराय र थुप्रै मान्छेहरु हौसिदै उनका पछि लागे । गत वर्ष पनि पुनर्गठनका नाममा माधब नेपालको नेतृत्वमा पार्टी बिभाजन भयो त्यस्को पछि लाग्नेमा म पनि थिए । पार्टी बिभाजनले कांग्रेस लगायत पश्चिमा पुजीवादीहरुलाई नै फाइदा पुर्यायो । त्यस बाफत पछुतो र आत्मग्लानी भएको छ । बिगत ५–६ महिना देखि नै पार्टी काम छोडेर निष्क्रिय रहेको अवस्था थियो भने आजका मिति देखि म कुनै दलसङ्ग आवद्ध नरहेको घोषणा गर्दछु।’

सुदुरपश्चिम एकीकृत समाजवादीका थुप्रै नेता कार्यकर्ताहरु एमाले प्रवेशको तयारीमा रहेको बेला शाहीको पार्टी परित्यागलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

समाजवादीका नेताहरु भानुभक्त जोशी, तारा लामा तामाङ, कुलविर चौधरी, रामकुमार ज्ञवाली, अशोक चन्द, रामचन्द्र रेग्मी र जिवन थापालगायत पार्टीमा असन्तुष्ट छन् । उनिहरु एमाले फर्कने सम्भावना रहेको स्रोतले बतायो ।

प्रतिक्रिया दिनुहोस
Advertisement