अबेर राति दलहरूबीच सहमति : उच्चस्तरीय छानबिन समिति बन्ने, संसद खुल्ने


काठमाण्डु – लामो रस्साकस्सीपछि सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बन्ने भएको छ ।

सोमवार रातिसम्म सिंहदरबारमा बसेको संसद्मा प्रतिनिधित्व गर्ने राष्ट्रिय दलको बैठकमा छानबिन समिति बनाउने सहमति भएको हो । यससँगै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको माग पूरा हुने भएको छ ।

छानबिन समितिको कार्यादेश तय गर्न सहमति भएको छ । छानबिन समितिको कार्यादेश तयार गर्नका लागि एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, कांग्रेसका प्रमुख सचेतक रमेश लेखक र माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे सदस्य रहने गरी कार्यदल गठन गरिएको छ । कार्यदलको सिफारिसका आधारमा छानबिन समितिको काम, कर्तव्य र अधिकार क्षेत्र निर्धारण गरिनेछ ।

यसअघि सरकारले राज्यका निकायले नै छानबिन गर्ने र छुट्टै समिति आवश्यक नभएको अडान राखेको थियो भने समिति गठनको माग गर्दै एमालेले संसद् अवरुद्ध गर्दै आएको छ । उच्चस्तरीय समिति गठन भएसँगै संसद्को अवरोध पनि खुल्ने भएको छ ।

सोमबारको बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी शर्मा ओली, एमालेका उपाध्यक्ष, नेम्वाङ, उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, एमालेका प्रमुख सचेतक पदम गिरी, कांग्रेसका प्रमुख सचेतक लेखक, राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष बुद्धिमान तामाङ, जनता समाजवादी पार्टी (जसपा) का नेता राजकिशोर यादव लगायत नेता सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement