यी हुन गठबन्धनसँग भिड्न एमालेले चुनावी मैदानमा उतारेका ५ सांसद


काठमाण्डु – नेकपा एमालेले स्थानीय निर्वाचनका लागि ५ जना सांसदलाई चुनावी मैदानमा उतारेको छ । एमालेले बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा सत्ता गठबन्धन दलका उम्मेदवारसँग प्रतिस्पर्धा गर्न प्रदेशसभाका सांसदहरुलाई चुनावी मैदानमा उतारेको हो ।

प्रदेशसभा सदस्यबाट राजीनामा दिएर केशव स्थापित, विजय सुवेदी, कृष्ण थापा महानगरपालिकाको उम्मेदवार बनेका छन् । त्यस्तै काजीमान कागते र गोपालमान बुढाथोकीले पनि प्रदेशसभा सदस्यबाट राजीनामा दिएर नगरपालिका प्रमुखमा उम्मेदवारी दिएका छन् ।

काठमाण्डुका स्थापित र पोखरा मेयरका उम्मेदवार थापाले एक कार्यकाल महानगरको नेतृत्व सम्हालिसकेका छन् । स्थापित २०५४ सालमा एमालेबाट एक कार्यकाल मेयर भइसकेका नेता हुन् भने गण्डकी प्रदेशसभा सदस्यबाट राजीनामा दिएर पोखरा महानगरको मेयर उम्मेदवार बनेका थापाले पनि २०५४ मा उपमहानगरपालिका भएको बेला पोखराको नेतृत्व हाँकिसकेका छन् ।

महानगरपालिकाबाहेक एमालेले प्रदेश १ का दुई जना सांसदलाई पनि मेयरमा उतारेको छ । इलामको सूर्योदय नगरपालिकाको मेयरका उम्मेदवार काजीमान र झापाको मेचीनगर नगरपालिकाको मेयरका उम्मेदवार बुढाथोकी प्रदेशसभा सदस्यबाट राजीनामा दिएर मेयर बन्न गएका हुन् ।

नेकपा एसका नेता झलनाथ खनालको गृह नगर सूर्योदयका यसअघिका मेयर रणबहादुर राई खनालसँगै गएपछि प्रभावशाली र लोकप्रिय नेता खोज्ने क्रममा एमालेले प्रदेशसभा सदस्य कागतेलाई राजीनामा गराएर मेयरमा उम्मेदवार बनाएको हो ।

त्यस्तै बुढाथोकी पनि मेचीनगरका लोकप्रिय नेता हुन् । उनी अघिल्लो स्थानीय तह निर्वाचनमा पनि मेयरका दाबेदार थिए । तर उनले टिकट नपाएका कारण एमालेले उपमेयर जितेर मेयर हारेको थियो ।

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माको गृह नगर मेचीमा यस पटक एमालेले बुढाथोकीलाई अघि बढाएको छ । यो पटक पाँच दलीय सत्ता गठबन्धन र एमालेबीच एक्लै प्रतिस्पर्धा हुन लागेको हो ।

पाँच दलबीच गठबन्धन भएका ठाउँमा आफ्नो बिरासत जोगाउन चुनौती बढेका बेला एमालेले आफ्नो सांगठानिक आधार बलियो भएका ठाउँमा हेबिवेट भएका सांसदहरुलाई उम्मेदवार खडा गरेको हो ।

प्रतिक्रिया दिनुहोस
Advertisement