सांसद शान्ता चौधरी बनिन् गीतकार


काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलकी सचेतक एवम् सांसद शान्ता चौधरीले ‘जिन्दगी’ र ‘वियोग’ नामक गीति एल्बम निकालेकी छन् ।

सचेतक चौधरी र नेकपाकी अर्की नेतृ भगवती न्यौपानेको रचना रहेको एल्वम् मंगलवार प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक गर्ने कार्यक्रम रहेको सांसद चौधरीले बताइन् । गीतमा गायिका अञ्जु पन्त, गायक बद्री पंगेनी र शिशिर योगीले स्वर दिएका छन् ।

कमलरी पृष्ठभूमिबाट भूमिअधिकारको अभियान हुँदै मूलधारको राजनीतिमा आएकी सांसद चौधरीले यसअघि आफ्नो जीन्दगीको भोगाइलाई ‘कमलरीदेखि सभासद्सम्म’ पुस्तकमा उतारेकी छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमार्फत भनेकी छन, ‘आदरणीय महानुभावहरु, शुभेच्छुक, शुभचिन्तकहरुले किताब पढेर हौसला प्रदान गर्नुभयो जसले गर्दा मलाई आफ्नो नेतृत्व विकासमा उर्जा मिल्यो । फेरि जिन्दगीको भोगाईलाई शब्दमा उतारेर संगीत भरें ।’

उनले उक्त सार्वजनिक कार्यक्रममा उपस्थितिका लागि सम्पूर्णलाई निमन्त्रणा गरेकी छन् । साथै सोही अवसरमा नेकपा तनहुँकी अर्की नेत्रृ भगवती न्यौपानेले लेखेकोे देशभक्ती गीतको श्रव्य, दृश्य सामग्री पनि सार्वजनिक हुँदैछ ।

 

प्रतिक्रिया दिनुहोस
Advertisement