सन्दीपको टिम मेल्बर्नले जित्यो आठौँ जित


मेल्बर्न – अस्ट्रेलियामा जारी बिग बास लिग (बीबीएल) टी–२० क्रिकेटमा नेपाली क्रिकेटर सन्दीप लामिछाने आवद्ध टीम मेल्बर्न स्टार्सले लगातार आठौँ जित निकालेको छ ।

स्टार्सले पर्थ स्कोचर्सलाई १० रनले पराजित गर्दै लगातार जित निकालेको हो ।

टस जितेर पहिलो ब्याटिङ गरेको स्टार्सले ६ विकेट गुमाउँदै १४१ रन बनाएपछि १४२ रनको लक्ष्य पछ्याएको स्कोचर्स ९ विकेटको क्षतिमा १३१ रनमै समेटियो ।

स्कोचर्सका लागि क्यामेरन ब्यांक्रफ्टले ३२ रन जोडे । त्यस्तै कुर्तिस प्याटर्सनले २० रन बनाए भने लिआम भिङ्स्टोनले १८ रन जोडे ।

स्कोचर्सलाई रोक्न स्टार्सका निक म्याडिसनले ३ विकेट झारे । ४ ओभर बलिङ गरेका उनले २४ रन खर्चिए । त्यस्तै सन्दीप लामिछानेले १ विकेट हात पारे । उनले ४ ओभरमा २९ रन खर्चिए ।

उनले सातौँ ओभरको चौँथो बलमा १८ रन बनाएर खेलिरहेका लिआम लिभिङ्स्टोनलाई क्याच आउट गराएका हुन् ।

उनले पहिलो बलमा क्यामेरोन ब्यांक्रफ्टलाई ४ रन दिए । दोस्रो बलमा ब्यांक्रफ्ट १ रन दौडिए । त्यसपछि स्ट्राइकमा आएका लिभिङ्स्टोनलाई तेस्रो बलमा कुनै रन दिएनन् र चौँथो बलमा क्याच आउट गराए ।

यसअघि ब्याटिङ गरेको स्टार्सका लागि हिल्टोन कार्टराइटले सर्वा्धिक ५८ रन जोडेका थिए। उनी ५६ बल खेल्दै नटआउट रहेका थिए । त्यस्तै कप्तान ग्लेन म्याक्सवेलले २५ रन जोडेका थिए भने निक लार्किनले महत्वपूर्ण २४ रन बनाएका थिए ।

यो जितसँगै स्टार्सले ११ खेलबाट १० खेलमा जित निकाल्दै २० अंक जोडेर शीर्षस्थानमा कायमै छ । स्कोचर्स भने समान खेलबाट १० अंकसहित चौँथो स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement