रसिद खानलाई भुलौं, एसोसिएटको म नै १ नम्बर होः सन्दीप लामिछाने


काठमाडौं – नेपाली लेग स्पिनर सन्दीप लामिछानेले एसोसिएट राष्ट्रमा आफू नम्बर १ विकेट ‘टेकर’ भएको बताएका छन् । विश्वकप लिग २ अन्तर्गत ओमान सम्मिलित त्रिकोणात्मक सिरिजमा नेपालले अमेरिकालाई ८ विकेटले पराजित गरेपछि लेग स्पिनर लामिछानेले रसिदलाई भुल्न आग्रह गर्दै यस्तो बताएका हुन् ।

एक सिरिजमा रसिद खानले पनि एक सिरिजमा उत्कष्ट प्रदर्शन गरेका थिए, अहिलेको तपाईंको प्रदर्शन पनि उस्तै छ नि भन्ने जिज्ञासामा उनले भने, ‘रसिद टेष्टका खेलाडी हुन्, एसोसिएटको अहिले म नै १ नम्बर हो, उसलाई भुलौँ ।’

खेलमा नेपालको उत्कृष्ट प्रदर्शनको श्रेय भने सन्दीपले सुसन भारीलाई दिए। उसले सबै खेलमा राम्रो प्रदर्शन गरेको छ । सिरिजको प्रदर्शनलाई हेरेर यसको श्रेयको भागिदार सुसन भएको बताए। आजको खेलमा सन्दीपले ६ विकेट लिएका थिए । ओमानसँग आफूले विकेट लिन नसक्दा खेलमा केही प्रभाव परे पनि त्यसलाई सुधार गर्दै लैजानुपर्ने बताए ।

यस्तै टोलीका कप्तान ज्ञानेन्द्र मल्लले आफूहरु सिरिजको सुखद अन्त्यको चाहनामा रहेकोले सोचेजस्तै नतिजा आएको बताए । ‘हामी सुखद अन्त्य चाहन्थ्यौँ तर आजको खेल सोचेभन्दा छिटो भयो । सुसन र सन्दीपले राम्रो प्रदर्शन गरेर यो सम्भव भएको हो’, उनले भने ।

प्रतिक्रिया दिनुहोस
Advertisement