काठमाण्डु – नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा लेगस्पीनर सन्दीप लामिछानेलाई एक खेलका लागि निलम्बन गरेको छ । साथै क्यानले लामिछानेलाई स्पष्टीकरणसमेत सोधेको छ ।
लामिछानेलाई क्यानले अनुशासनको कारवाही गरेको क्यानका प्रवक्ता छुम्बी लामाले जानकारी दिए । प्रवक्ता लामाले गत साता सम्पन्न जय ट्रफी एलिट कपका बेला उनले अम्पायरको निर्णयबारे सामाजिक सञ्जालमा लेखेको विषयमा क्यानले लामिछानेलाई कारबाही गरेको हो ।
‘जय ट्रफीका बेला सन्दीपले अम्पायरका बारेमा सार्वजनिक रूपमा सामाजिक सञ्जालमा लेखेकाले त्यो कुरा खेलाडीसँगको सम्झौताको २।७ मा उल्लेख गरिएको नियमको उल्लंघन भएकाले उनलाई एक खेलका लागि निलम्बन गरिएको हो’ प्रवक्ता लामाले भने ।
सन्दीपले अब क्यानले आयोजना गर्ने कुनै प्रतियोगितामध्ये एक खेल खेल्न पाउने छैनन् ।
सन्दीपले जनवरी १० मा सामाजिक सञ्जालमा नेपाली अम्पायरको स्तरमा सुधार हुनुपर्ने उल्लेख गर्दै अम्पायरको निर्णय राम्रो नभए धेरै खेलाडीहरूलाई असर पुग्ने बताएका थिए ।
पछिल्लो समय सन्दीपले सामाजिक सञ्जालमा स्टाटस राख्दै आइरहेका छन् जहाँ उनले नेपाली फ्यानलाई धन्यवाद दिएका छन् ।
क्यान र खेलाडीबिचको सम्झौतामा क्यानसँग सम्बन्धित अधिकारीहरुविरुद्ध सामाजिक सञ्जालमा टिप्पणी गर्न नपाउने व्यवस्था छ। सन्दीपले सोही कुराको उल्लंघन गरेको क्यानको निस्कर्ष छ।
प्रतिक्रिया