संक्रमणकाल अन्त्य गर्न सेना बाधक बन्दैन : प्रधानसेनापति


काठमाडौँ – प्रधानसेनापति पूर्णचन्द्र थापाले संक्रमणकाल अन्त्य गर्न नेपाली सेना बाधक नहुने बताएका छन् । राजनीतिक स्थिरतासँगै देश लामो संक्रमणकालबाट क्रमशः पार हुने क्रममा रहेको भन्दै प्रधानसेनापति थापाले संक्रमणका केही अवशेषलाई पार लगाउने विषयमा सेना बाधक नबन्ने स्पष्ट पारे ।

१० वर्षे सशस्त्र द्वन्द्वकालमा तत्कालीन विद्रोही माओवादी र सुरक्षा निकायबाट भएका मानवअधिकारका उल्लंघनका घटनाको छानविन सम्बन्धि विषय अझै टुंगोमा पुग्न सकेको छैन। सरकारले त्यसको छानबिन गरी पीडितलाई न्याय र दोषीलाई कारबाही सिफारिस गर्ने गरी सत्य निरुपण तथा मेलमिलाप आयोग गठन समेत गठन गर्न नसकिरहेकै बेला सेनापति थापाले संक्रमणकालसँग जोडिएका अवशेषको टुंगो लगाउन सेनाले सहयोग गर्ने बताएका हुन्।

प्रधानसेनापतिमा नियुक्ति भएको १ वर्षको अवसर पारेर मंगलबार सैनिक मुख्यालयमा आयोजित कार्यक्रममा प्रधानसेनापति थापाले आन्तरिक सुरक्षा मजबुत नभई देशको समृद्धि नहुने पनि बताए।

‘राजनीतिक स्थिरतासँगै आज देश संक्रमणकालबाट क्रमशः पार हुँदै छ, यद्यपी संक्रमणकाल पार गर्ने क्रममा बढ्दो जनआकांक्षा र अन्योलले सुरक्षा चुनौती थपिनसक्ने यथार्थलाई नकार्न सकिदैन,’ थापाले भने, ‘संक्रणका केही अवशेषहरु बाँकी छन् भने त्यसमा नेपाली सेना बाधक हुदैन र हुनु हुदैन।’ उनले आन्तरिक सुरक्षा बलियो नभई मुलुक समृद्धि तर्फ समेत नजाने बताए। याे समाचार कान्तिपुर दैनिकमा छ ,

प्रतिक्रिया दिनुहोस
Advertisement