संक्रमित नै सम्पर्कबाहिर


काठमाण्डु – कोरोना भाइरस संक्रमण पुष्टि भएकामध्ये केही संक्रमित भागेकाले संक्रमणको जोखिम बढ्न सक्ने देखिएको छ ।

बुधबार उपत्यकामा संक्रमण पुष्टि भएका १ सय २ जनामध्ये आठ जना संक्रमित स्वास्थ्यकर्मीको सम्पर्कबाहिर रहेको पाइएको हो । बुधबार बिहानसम्म १६ जना संक्रमित सम्पर्कबाहिर रहेकामा बिहीबार आठ जना सम्पर्कमा आएका छन् । बाँकी आठ जनाको कुनै अत्तोपत्तो छैन ।

स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका वरिष्ठ जनस्वास्थ्य अधिकृत उत्तम कोइरालाका अनुसार सम्पर्कबाहिर रहेका केही संक्रमितले सम्पर्क नम्बर नै गलत राखेका छन् । इडिसिडीले स्वाब संकलन गरेकामध्ये केहीले अपुरो सम्पर्क नम्बर दिएको जनाएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका वरिष्ठ जनस्वास्थ्य अधिकृत कोइरालाले भने, ‘केही संक्रमितलाई सम्पर्क गर्न खोज्दा मोबाइल अफ छ । सम्पर्क गर्न खोज्दा केहीको गलत नम्बर रहेछ । संक्रमितको पहिचानका लागि नम्बर ट्र्याक गर्न नेपाल टेलिकम, प्रहरीलगायतका निकायको सहयोगमा खोजिरहेका छौं ।’

संक्रमितहरू सम्पर्क बाहिर रहँदा कन्ट्याक्ट ट्रेसिङलगायतमा समस्या हुने गर्छ । जसले गर्दा संक्रमितको सम्पर्कमा आएकाहरू थप जोखिममा पर्ने चिकित्सकको भनाइ छ ।

सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले संक्रमण रोकथाममा स्वयं व्यक्ति नै सचेत र सजग हुनुपर्ने बताए । उनले भने, ‘सबैभन्दा मुख्य कुरा आत्मानुशासन हो । र, जनस्वास्थ्यका न्यूनतम मापदण्ड सबैले पूर्ण रूपमा पालना गर्नुपर्छ ।’
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वाबको नतिजा नआउँदासम्म होम क्वारेन्टिनमै बस्न आग्रह गर्दै आएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले भने, ‘स्वाब संकलन गरिसकेपछि नतिजा नआउँदासम्म होम क्वारेन्टिनमै बस्नुस् । नत्र झन् जोखिम बढ्न सक्छ ।’

लकडाउन खुलेयता हालसम्म ३ हजार ९ सय ५ जना संक्रमित थपिएका छन् । काठमाडौं उपत्यकामा पछिल्लो चौबिस घण्टामा थप ८७ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार काठमाडौंमा ७६, ललितपुरमा १० र भक्तपुरमा १ जना गरी कुल ८७ जनामा संक्रमण देखिएको छ ।यो समाचार आजको राजधानी दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement