बाँकेमा क्वारेन्टाइनमा रहेका युवकलाई सर्पले टोक्यो


बाँके- बाँकेको जानकी गाउँपालिकाको आइसोलेसनबाट एक जना कोरोना संक्रमित भागेका छन्। क्वारेन्टाइनमा एक जनालाई सर्पले टोकेको छ। जानकी गाउँपालिका-२ जोगागाउँको श्रीमाध्यमिक विद्यालयको आइसोलेसनबाट मंगलबार बिहानै शौचालय जाने बाहानामा ३५ वर्षीय संक्रमित भागेका हुन्।

जानकीको आइसोलेसनमा राखिए पनि उनको घर भने नेपालगन्ज उपमहानगरपालिका-१२ हो। आइसोलेसनमा कार्यरत जनस्वास्थ्य निरीक्षक श्यामलाल बेल्वासेका अनुसार शौचालय जाने बाहानामा संक्रमित भागेका थिए। आइसोलेसनको पूर्वमा ठूलो फलामे ढोका र पश्चिम र उत्तरमा भवन बनाइएको छ। निर्माणाधीन भवनको दक्षिणतर्फ भने डोरीको मात्र बार लगाइएको छ। संक्रमितले भाग्नलाई त्यही बाटो प्रयोग गरेको हुनसक्ने स्वास्थ्यकर्मी र सुरक्षाकर्मी बताउँछन्।

आइसोलेसनबाट संक्रमित भागेको खबर मंगलबार बिहान ४ बजेतिर पाउने बित्तिकै उनको घरसम्म पुगेर खोजी गर्दा नभेटेको जानकी गाउँपालिका १ का वडाध्यक्ष मोहम्मद रजा राइले बताए। प्रहरीले दिनभर खोजी गर्दा पनि फेला पार्न सकेको छैन। भारतको नानपारा ससुराली भएका ती युवा त्यतैतिर भागेको आशंका गरिएको छ।

यसैबीच, जानकी गाउँपालिका-१ बढैयाको नेपाल राष्ट्रिय प्राथमिक विद्यालयको क्वारेन्टाइनमा बसेका सुन्दरलाल काँदुलाई सर्पले टोकेको छ। वडा नं. १ का वडाध्यक्ष मो.रजा राइका अनुसार सोमबार राति साढे १० बजेतिर सुतिरहेको बेला उनलाई गोमन सर्पले टोकेको हो।

सयममै एम्बुलेन्स नआएपछि मंगलबार बिहान ८ बजेतिर मात्र उपचारका लागि भेरी अस्पतालमा पठाइएको उनले बताए। सर्पलाई क्वारेन्टाइनमा बसेका अन्य युवाले मारेका थिए। सर्पले टोकेका युवा अस्पतालबाट निको भएर दिउँसो घर फर्किएका जानकी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिबहादुर खत्रीले बताए। सर्पले टोक्न थालेपछि क्वारेन्टाइन बसेका स्थानीयले घरजान पाउनुपर्ने भन्दै राति विरोध प्रदर्शन गरेका थिए।यो समाचार आजको अन्नपूर्णपोष्ट दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement