संखुवासभा हत्या काण्ड : लोकबहादुरका भाइ, बुबा र काका पनि पक्राउ


काठमाण्डु – संखुवासभा सामूहिक हत्या प्रकरणमा प्रहरीले थप चार जनालाई पक्राउ गरेको छ । हत्या अभियोगमा यसअघि पक्राउ परेका लोकबहादुर कार्कीले भाइ, बुबा र दुईजना काकाको पनि संलग्नता रहेको बताएपछि उनीहरुलाई प्रहरीले आइतबार पक्राउ परेको हो ।

मादी –१ उम्लिङ खोला गाउँमा एकै परिवारका ६ जनाको हत्यामा अनुसन्धानका लागि थप चारजनालाई नियन्त्रणमा लिइएको प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी नवीनराज राईले जानकारी दिए ।

प्रहरीले उनीहरूलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय चैनपुर ल्याएको छ । नियन्त्रणमा लिएकाहरु मृतक तेजबहादुरका छिमेकी हुन् । तर, नियन्त्रणमा लिएकाहरूका नाम भने खुलाइएको छैन । मृतक रञ्जना कार्कीको हराएको मोबाइल प्रहरीले गत शुक्रबार फेला पारेपछि अनुसन्धान टोली पुनः घटनास्थल पुगेको थियो ।

घटनाबारे थप प्रमाण फेला परेपछि संघीय इकाई प्रहरी कार्यालय धरानका एसपी भीम दाहालको नेतृत्वमा प्रदेश १ प्रहरी कार्यालयका प्रहरीसहित ६ जनाको टोली घटनास्थल पुगेर पुनः अनुसन्धान गरिहेको छ । घटनास्थल खोला गाउँमा प्रहरी निरीक्षक योगराज खतिवडाको कमाण्डमा अनुसन्धान गर्न १० जनाको प्रहरी घटनास्थलमा तैनाथ गरिएको छ ।

गत २१ भदौमा उम्लिङ खोला गाउँका ५२ वर्षीय तेजबहादुर, उनकी ८४ वर्षीया आमा पार्वती, ५२ वर्षीया श्रीमती कमला, बुहारी ३२ वर्षीया रञ्जना, नाति ११ वर्षीय दीपेन र नातिनी सात वर्षीया गोमाको हत्या भएको थियो ।

लोकबहादुरले ६ जनाको हत्या आफुले गरेको स्वीकार गरेका थिए । उनले तेजबहादुरलाई मात्रै मार्ने योजना बनाएको भए पनि आफ्नो पोल खुल्ने डरले देख्ने जति सबैको चिरपटले हानेर हत्या गरेको र सो चिरपट जलाएको प्रहरीसँग बताएका थिए । तर, प्रहरी अनुसन्धानमा क्रममा हत्यामा लोकबहादुरका परिवारका अन्य सदस्यको संलग्नता रहेको खुलेको हो ।

प्रतिक्रिया दिनुहोस
Advertisement