प्रहरीसमक्ष आरोपीको बयान : तेजबहादुरलाई मार्न खोजेको थिएँ, प्रमाण मेटाउन देख्नेजति सबैलाई सिध्याएँ


काठमाण्डु – संखुवासभा सामूहिक हत्या प्रकरणमा संलग्न आरोपमा एक जना पक्राउ परेका छन् । हत्या भएको पाँच दिनपछि प्रहरीले सङ्खुवासभाको मादी नगरपालिका–१ स्थित सामूहिक हत्याकाण्डका आरोपी लोकबहादुर कार्कीलाई पक्राउ गरेको हो ।

२६ वर्षीय लोकबहादुर हत्या गरिएका ५२ वर्षीय तेजबहादुर कार्कीका भतिज हुन् । गत सोमबार बिहानै सङ्खुवासभाको मादी नगरपालिका–१ खोला गाउँमा स्थानीय बुद्धमान कार्कीका परिवारका ६ जना सदस्यको हत्या भएको थियो ।

उक्त हत्याकाण्डमा बुद्धमानका छोरा ५२ वर्षीय तेजबहादुर कार्की, तेजबहादुरकी श्रीमती कमला कार्की, बुहारी ३२ वर्षीय रञ्जना कार्की, ८४ वर्षीय आमा पार्वती कार्की, ८ वर्षीय विपिन कार्की र ५ वर्षीय गोमा कार्की मृत फेला परेका थिए ।

घटनाको अनुसन्धानका लागि प्रदेश १ का प्रहरी प्रमुख, प्रहरी नायब महानिरीक्षक अरुणकुमार बीसीसहित नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) लगायतको टोली घटनास्थल पुगेको थियो ।

डिआइजी बिसीले हत्यारा कार्की परिवारको नजिकको नाता पर्ने व्यक्ति भएको बताए । उनले व्यक्तिगत रिसिबीका कारण हत्या भएको अनुसन्धानका क्रममा खुलेको जानकारी दिए । पक्राउ परेका लोकबहादुरले आफुले तेजबहादुरको हेपाई सहन नसकेर आवेगमा हत्या गरेको प्रहरीसमक्ष बयान दिएका छन् ।

सोमबार बिहान धान गोड्नका लागि खेताला खोज्न निस्किएका तेजबहादुरलाई बाटोमा कुरेर बसेका लोकबहादुरले पछाडीबाट टाउकोमा हानेर हत्या गरेका हुन् ।

तेजबहादुरलाई मात्र मार्न चाहेको र उनको हत्या गरेको परिवारका अन्य सदस्यले पनि देखेपछि प्रमाण मेटाउन अरुलाई पनि मार्न बाध्य भएको लोकबहादुरले प्रहरीसमक्ष बयानमा भनेका छन् । लोकबहादुर एक वर्षदेखि मानसिक रोगीसमेत भएको प्रहरीले जनाएको छ ।

प्रहरीले आइतबार पत्रकार सम्मेलन गरेर विस्तृत विवरण सार्वजनिक गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement