संखुवासभा हत्या प्रकरण : लोकबहादुरको भाइ नरेशबारे थप अनुसन्धान गर्न प्रहरी टोली पुन: घटनास्थलमा


काठमाण्डु – संखुवासभा सामूहिक हत्या प्रकरणमा थप अनुसन्धान गर्न प्रहरीको टाली घटनास्थल पुगेको छ ।

सामूहिक हत्या पछि मारिएकी बुहारी रञ्जना कार्कीको हराइरहेको मोबाइल लोकबहादुरको घरमा फेला परेपछि घटनाको थप अनुसन्धानका लागि प्रदेश १ प्रहरी कार्यालयबाट अनुसन्धान टोली मादी पुगेको हो ।

हराएको मोबाइल लोकबहादुरको भाइ नरेशको साथमा फेला परेपछि हत्यामा भाइको संलग्नताबारे अनुसन्धान गर्न प्रहरी टोलीलाई संखुवासभा पठाइएको प्रदेश प्रहरी प्रमुख डिआइजी अरुण कुमार बिसीले जानकारी दिए ।

उनले हत्याको अनुसन्धान गरी बिराटनगर फर्किएको प्रहरी टोली नरेश कार्कीको संलग्नताबारे खोजी गर्दै फेरि संखुवासभा फर्किएको बताए ।
भदौ २१ गते बिहान भएको हत्याकाण्डपछि मृतक रञ्जना कार्कीको मोबाइल हराइरहेको थियो ।

प्रहरीले उक्त मोबाइलको खोजी गर्ने क्रममा लोकबहादुरका भाइ नरेशले उक्त मोबाइल चलाएको पाइएपछि उनलाई बुुधबार नियन्त्रणमा लिइएको थियो ।

नरेशले उक्त मोबाइल कहाँबाट कसरी पाए भन्ने सम्बन्धमा थप अनुसन्धान गर्न अनुसन्धान टोली पुनः संखुवासभा फर्किएको हो । यद्यपि हत्याका आरोपी लोकबहादुरले अहिलेसम्म पनि हत्यामा आफ्नो मात्रै संलग्नता रहेको बताइरहेका छन् ।

यसअघि हत्यामा नरेशको समेत संलग्नता रहेको वा हत्या हुँदै गर्दा नरेशले समेत देखेको समाचार बाहिर आएको थियो । तर प्रहरीले समाचार आएकै दिन विज्ञप्ति निकालेर कोही पक्राउ नपरेको स्पष्टीकरण दिएको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement