संसद्को क्यालेन्डर तयार, अध्यादेश माघ २२ मा निर्णयार्थ प्रस्तुत गरिने

संसद्को क्यालेन्डर तयार, अध्यादेश माघ २२ मा निर्णयार्थ प्रस्तुत गरिने


काठमाण्डु- सरकारले ल्याएका अध्यादेश १८ माघमा संसद्मा निर्णयार्थ पेस गरिने भएको छ ।

सभामुख र पाँच दलका प्रमुख सचेतकको सोमबार भएको छलफलमा सरकारले ल्याएको अध्यादेशहरू माघ १८ गते संसदमा पेस गरेर २२ माघमा संसद्मा निर्णयार्थ प्रस्तुत गर्ने सहमति भएको हो।

यस्तै, मंगलबार कार्यव्यवस्था बस्ने तय भएको छ । सत्तारुढ दल एमालेका मुख्य सचेतक महेश बर्तौलाका अनुसार माघ १८ गतेदेखि ३० गतेसम्म बस्ने संसद बैठकका लागि क्यालेन्डर तयार पारिएको हो ।

संसद्को पहिलो दिन सुरुमा प्रधानमन्त्री लगायतका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यतालिका छ । सोही दिन सरकारले ल्याएका विभिन्न अध्यादेश संसद्मा पेस हुनेछन् ।

प्रमुख सचेतक बर्तौलाले भने, ‘१८ गतेपछि २२, २३ र २४ गते बैठक बस्छ, त्यसपछि बीचमा संसदीय समितिको बैठक बस्छ र १८ गते सदनमा पेश भएका सबै अध्यादेश २२ गते निर्णयार्थ पेश हुन्छ ।’

उनले बीचमा संसदीय समितिको बैठक बसेर माघ २८, २९ र ३० गते प्रतिनिधि सभाको बैठक राख्ने सहमति भएको बताए । माघ २३ र २४ गते पनि सदन बस्ने तय भएको छ । यसैगरी, माघ २५, २६ र २७ गते समितिको बैठक राखिने छ । माघ २८, २९ र ३० गते पनि सदन बस्ने तय भएको छ ।