गोलाप्रथाबाट मुद्दाको पेसी तोक्ने फुलकोर्टको निर्णय


काठमाण्डु – सर्वोच्च अदालतले मंसिर १५ गतेदेखि गोलाप्रथाबाट मुद्दाको पेसी तोक्ने निर्णय गरेको छ । फुलकोर्टको बिहीबार बसेको बैठकले १५ मंसिरबाट गोलाप्रथाबाट मुद्दाको पेसी तोक्ने निर्णय गरेको हो ।

गोलाप्रथासम्बन्धी नियमावली सोमबार राजपत्रमा प्रकाशित भएपछि बिहीबार फुलकोर्ट बैठक बसेर त्यसलाई कार्यान्वयन गर्ने गरी १५ मंसिरबाट लागु गर्ने निर्णय गरेको जनाइएको छ । गोलाप्रथाबाट पेसी तोक्न प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा राजी भएपछि १९ जना न्यायाधीश इजलासमा फर्किएका थिए ।

नेपाल बार एसोसीएसनको जबराको राजीनामा माग्दै भएको आन्दोलनमा ऐक्यबद्धता जनाएर न्यायाधीशहरूले इजलास बहिस्कार गरेका थिए । तर, गोलाप्रथा लागु गर्ने भएपछि न्यायाधीश इजलास फर्किए पनि बार भने आन्दोलनमै छ ।

त्यसैगरी  प्रधानन्यायाधीश जबराको आचरण, न्यायिक क्षमता र नेतृत्वमाथि गम्भीर आक्षेपका साथ न्यायाधीश तथा अधिवक्ताहरू एकसाथ आन्दोलित हुनुपरेको भन्दै पापडले परिस्थितिको जटिलतालाई बेवास्ता गरेर गठबन्धन सरकारले जबराको निरन्तरतामा आफ्नो मिलेमतो रहेको छर्लङ्ग पारेको र देशमा न्याय-शून्यता सिर्जना गरिदिएको आरोप लगाएको छ ।

पापडमा नेपाल बार एसोसियसन, नेपाल पत्रकार महासंघ, नेपाल शिक्षक महासंघ, नेपाल इन्जिनियर्स एसोसियसन, नेपाल जनस्वास्थ्य संघ तथा नेपाल आदिवासी जनजाति महासंघ आवद्ध छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement