सरकारले हतारमा ‘विप्लव’ समूहमाथि प्रतिबन्ध लगायो : देवेन्द्र पौडेल


काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य देवेन्द्र पौडेलले सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ माथि हतारमा प्रतिबन्ध लगाएको टिप्पणी गरेका छन् । बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने,‘हिजोको क्याविनेटको निर्णय जुन भएको छ, यसबारेमा पार्टीमा छलफल हुन बाँकी छ । म पार्टीको जिम्मेवार व्यक्ति भएको हुँदा मेरा कुराहरु म पार्टीको बैठकमा राख्छु ।

तरपनि म यतिमात्रै भन्न चाहन्छु कि यी समस्याहरु शान्तिपूर्ण तवरले नै हल गर्नुपर्छ । कुनैपनि पक्षलाई निषेध गर्ने र कहीँ न कहीँ जबरजस्त गर्ने, त्यसलाई कहीँ न कहीँ बाध्यात्मक कदम चाल्ने अवस्था सिर्जना गर्ने काम राज्य पक्षले गर्नुहुँदैन् ।’ नेता पौडेलले चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई निषेध गरेर नभई वार्तामार्फत् शान्तिपूर्ण ढंगले सो समस्याको समाधान गर्न पनि सरकारको गम्भीर ध्यानाकर्षणसमेत गराएका छन् ।

उनले चन्द नेतृत्वको पार्टीलाई जब्बरजस्ती गर्न खोजे मुलुकको विकास निर्माणको कामलाई गम्भीर असर पर्नेतर्फ पनि सरकारलाई सचेत गराए । मंगलबार साँझ बसेको मन्त्रिपरिषद बैठकले चन्द नेतृत्वको नेकपाको गतिविधि अपराधिक भएको निष्कर्ष निकाल्दै नियन्त्रण गर्ने निर्णय गरेको थियो। सो निर्णयप्रति नेता पौडेलको असन्तुष्टि छ ।

नेता पौडेलले सिके राउत समूहले विगतका आफ्ना गतिविधि कायमै राखे ऊसँग गरिएको सहमतिबारे पनि सरकारले पुनर्विचार गर्नुपर्ने पनि स्पष्ट पारे । उनले सरकारलाई जनताको अपेक्षा अनुसारको कामलाई तिखारेर तीव्र गतिका साथ अघि बढाउन पनि आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस
Advertisement