मन्त्रालय फुटाएर मंगलवार मन्त्रिमण्डल विस्तार गर्ने प्रधानमन्त्रीको तयारी


काठमाण्डु – प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिमण्डल विस्तार गर्ने तयारी गरेका छन् । सरकार बनेको दुई महिनासम्म मन्त्रिमण्डल बनाउन नसकेको भन्दै सर्वत्र आलोचना भएपछि उनले मन्त्रिमण्डल विस्तार गर्ने तयारी गरेका हुन ।

प्रधानमन्त्री देउवा निकट स्रोतले दिएको जानकारीअनुसार मंगलवार मन्त्रिमण्डल विस्तार गर्ने उनको तयारी छ । सोमबार सांझ सत्तारुढ गठवन्धनका शिर्ष नेताहरुको बैठक बस्दैछ । त्यो बैठकमा मन्त्रालय र मन्त्रीको नाम टुंगो लगाउने तयारी भइरहेको स्रोतको दावी छ ।

शिर्ष नेताहरुबीच मन्त्रालयको संख्यामा सहमती भइसकेको छ । जसअनुसार नेपाली कांग्रेसले प्रधानमन्त्रीसहित ६ वटा मन्त्रालय माओवादी केन्द्र,माधव नेपाल नेतृत्वको समाजवादी र जसपाले पनि समान ६ मन्त्रालय पाउने सहमती भएको छ ।

सत्तारुढ गठबन्धनमा भागवण्डा मिलाउन मन्त्रालय टुक्राउने सहमती समेत भएको छ । हाल उद्योग वाणिज्य तथा आपूर्ती एउटैमा रहेको मन्त्रालयलाई टुक्राएर उद्योग वाणिज्य एउटा र आपूर्ती अर्को बनाउने सहमती भइसकेको छ । त्यसमा मन्त्रालयको संख्या २२ बनाउने र राज्यमन्त्रीको संख्या घटाउने सहमती भएको स्रोतले दावी गरेको छ ।

‘सोमबार सांझसम्म हामी बसेर सबै टुंगो लगाउंछौं, मंगलवार प्रधानमन्त्रीले मन्त्रिमण्डल विस्तार गर्नुहुन्छ ।’ गठवन्धनका एक नेताले काठमाण्डुपाटीसंग भने ।

अहिले प्रधानमन्त्री देउवासहित कांग्रेसबाट गृहमा बालकृष्ण खांड र कानुनमन्त्री ज्ञानेन्द्र बहादुर कार्की र स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठ, माओवादीबाट अर्थमा जनार्दन शर्मा र उर्जामा पम्फा भुषाल मन्त्री छन् ।

प्रधानमन्त्री देउवाले श्रेष्ठलाई विदा गर्ने वा अर्को मन्त्रालयमा सार्ने तयारी गरेका छन् भने कार्कीलाई रक्षा वा परराष्ट्र दिने सम्भावना रहेको स्रोतको दावी छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement