कार्यक्षमता कमजोर भएका एक दर्जन राजदूत फिर्ता गर्दै सरकार


काठमाडौं – सरकारले कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको पुर्ववर्ती सरकारले नियुक्त गरेका राजदूतहरुलाई फिर्ता बोलाउने क्रम सुरु गरेको छ । मन्त्रिपरीषदको बैठकले इजरायलका लागी नेपाली राजदूत निरन्जन थापालाई फिर्ता बोलाउने निर्णय गरेसंगै अन्य राजदूतहरुलाई पनि कार्यक्षमतालाई आधार बनाएर छिट्टै फिर्ता बोलाउने तयारी भएको स्रोतको दाबी छ ।

परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले यसअघि राजनीतिक पुर्वाग्रहका आधारमा भन्दा कार्यदक्षताका आधारमा राजदूत फिर्ता बोलाउने वा राख्ने निर्णय गर्ने बताएका थिए ।

उच्च स्रोतले दिएको जानकारीअनुसार सरकारले कतारका लागि राजदूत रमेश कोइराला,स्पेनका राजदूत भरत रायमाझी,दक्षिण कोरियाका राजदूत अर्जुनजंगबहादुर सिंह, बंगलादेशका डा. चोपलाल भुसाल र म्यान्मारका भीम उदासलाई फिर्ता बोलाउने तयारी गरेको छ । उनिहरु कसैको पनि कार्यक्षमता राम्रो नभएको सरकारको मुल्यांकन छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाको पालामा नियुक्त भएकी जापानकी राजदूत प्रतिभा राणा, ओमानकी शर्मिला पराजुली र श्रीलंकाका डा.विश्वम्भर प्याकुरेललाई भने तत्काल फिर्ता नगर्ने मनशायमा सरकार छ । राणा कांग्रेस सभापति देउवाको सासु हुन् भने पराजुली र प्याकुरेल दुवैको काम सन्तोषजनक रहेको छ ।

सरकारले एकैपटक सबैलाई फिर्ता बोलाउने भन्दा कामलाई आधार मानेर फिर्ता बोलाउने वा राख्ने निर्णय गर्नेछ । त्यसका साथै राजदूत नियुक्तीको प्रक्रियालाई छिट्टै अघि बढाउने तयारीमा प्रधानमन्त्री केपी शर्मा ओली रहेको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement