सरकार माखो नमार्ने,अनि मिठो सम्वोधनले मात्र चल्छ त ?


कृष्ण सापकोटा –सन्दर्भ महामारी युद्घ अनि प्रधानमन्त्रीको सम्बोधनबाट ! कोरोनाको बेग क्षेप्यास्त्र भन्दा तिब्र गतिले दौडिरहेछ । चौबिसै घण्टा झलमल्ल रहने युरोप र अमेरिकाका ति शहरहरुमा आज घनघोर अन्धकार छ । बाहिरी देश महामारीले औधी गलिरहदा नेपालमा यसको आतङ्क भर्खर डढेलोझै फैलिदैछ । यहाँ कोरोनाको नयाँ श्रीङ्खलाले हलचल मच्चाउदै छ । जुन कुरा जीवनमा भोग्न नपरोस् भन्दै थियौं, त्यही कुरा आज भोग्न बाध्य हुदैछौं । प्रलयकारी भाइरसको बढ्दो इन्ट्रीले पिडाको गाँठो झन–झन कस्सिदैछ ।

कतै भारत, चीन, युरोप अनि अमेरिकाको जस्तो भयावह स्थिति हुनेत हैन नेपालमा पनि ? यदि त्यस्तै भैहाले लौन कसो गर्ने होला ? ति दुखद घटनाहरुको दृष्य मानसपटलमा झलझलि आइरहेछन् । मस्तिष्कमा अनेकन तर्कनाहरु चलिरहेछन् । अस्तव्यस्त जीवनमा चिन्ता झनै बढेको छ । हिजोको त्यो सुन्दर सपना आज एकाएक तुहिएको छ । बिगतको त्यो आनन्दित मन आज एकाएक भत्किएको छ । सारा जीवन जोखिमको भुमरीमा फसेको भान हुदैछ । उत्साह र रौनक हराएर गएका छन् । मनमा छट्पटाहट् चलिरहेछ । बाहिर कतै जाने ठाँउ छैन । पूरा संसार ठप्प छ । कता के हुने जग्जगी छ । निराशा व्याप्त छ । गुम्सिएको पिडा पोख्ने ठाँउ छैन ।

हो, आज हरेक मानवका आफनै कहानीहरु छन् । कोही व्यक्त गर्छन त कोही लुकाउछन् । कसैले लेख्छन त कसैले सुनाउछन् । म कहिल्यै नसोचेको संसार आज देख्दैछु । धर्तिका सारा मानव तातो तावाका जिउदा माछा सरह छट्पट्टाइरहेका छन् । मान्छेदेखि मान्छे डराइरहेका छन् । सबैको एउटै पिर कसरी बाच्ने भन्ने छ । मर्नेलाई भन्दा बाच्नेलाई झनै कठिन हुदैछ । आखिर यो के भैरहेछ ? परिस्थिति अकल्पनिय छ । कस्तो निर्मम महामारी । कस्तो कठोर समय । रफ्तारमा दौडेको कोरोनाले बिश्राम लिने छाट छैन । चौतर्फी समस्या ठूलो छ । दलदलमा फसेको यो महामारी युद्घ लड्न हाम्रो सरकारको पर्याप्त तयारी नहुदा मन ढुक्क बन्न सकेको छैन । जनताको अभिभावक ठानेको सरकारले जोखिम किनारा लाउन चालेका कदम हेर्दा झारा टार्ने बाहेक अरु केहि देखिदैन ।

जुनसुकै दर्शनले पनि संकटमा दयाभाव देखाउन भन्छ । आज देश महामारीको बढ्दो रापले जलिरहदा अनि जनताको मन हजारौ पिडाले भारी भैरहदा किन आफ्नो बन्न सक्दैन यो सरकार ? बिहानको छाक टारेर साँझको अन्न जोहो गर्न भौतारिदै हिडेको जीवन जीउन विवश मजदुरको बेचैनी मनलाई किन थमथमाउन सक्दैन यो सरकार ? हो अमेरिका, जापान, इटली, भारतले भैm खरवौंको बजेट बाड्न त हामी नसकौला, तर सेउलाको गारो भित्रका भोका ति अबोध बालक र निमेकले जीवन निर्वाहा गरेका गरिव दुखिहरुलाई दुई छाक गाँसको व्यवस्था मिलाउन सरकारले सक्थ्यो नि । वारी घाटमा ममतामयी आमा मृत्युपछि चितामा जलिरहेको हृदयविदारक घटनामा सिमा पारीको किरियापुत्री छोरोलाई तिमि घर जाऊ भन्न सरकारले सक्थ्यो नि । प्रधानमन्त्रीको जन्मदिनमा हेलिकप्टर चार्टर गरेर केक ओसार्ने सरकारले संकटमा पूर्व–पश्चिमको लामो पैदल यात्रामा लखतरान हानिएका ति खाली खुट्टा र खाली पेटका बालक, बृद्घ, रोगी अनि सुत्केरीलाई गाडीको व्यवस्था गरेर थाकथलोमा पु¥याइदिन सरकारले सक्थ्यो नि ।

हो हाम्रो मुलुक धनी छैन तर त्यो जनताको भित्री पिडामा थोरै मानवीय संमवेदना मात्र देखाएकै भए पनि सरकार अलिकति नाक देखाउन लायक बन्न सक्थ्यो नि । प्रधानमन्त्री तार्किक र वजनदार बाणीहरु सुनाउछन् । देशवासीलाई रसिला र मिठा कुराले सुखि अनि सुन्दर सपना त बाड्छन् तर, अफसोच व्यवहारमा उतार्न सक्दैनन् । बोलिले मात्र सबै हुने भए किन खट्नुपथ्र्यो सरकार ! महामारी निमिट्यान्न पार्न जनताको अभिभावक बनेको सरकारको भूमिका महत्वपूर्ण हुनुपथ्र्यो, तर संकटमा झनै निरिह बनेर बस्यो । जीवनमा दुःखहरु हुल बाधेर आउदा प्रतिपक्ष तथा अरु राजनीतिक दलले समेत आफ्नो गतिलो क्षमता प्रदर्शन गरेर जनताको मनमा एक चिम्टि खुशी छर्न सकेनन् ।

दिन बिते, महिना बिते, तर सत्ता लाभहानीको हिसावकिताव गरिरहने अन्य दलका नेता तथा चेलाहरुमा पनि संकट गलाउन दलको रंगले रंगीएको बिचारमा कुनै नयाँ बुद्घि पलाउन सकेन । प्रतिपक्षको काम सत्तापक्षलाई आँखा देखाउने, सचेत गराउने, र कसरी हुन्छ कान सुन्ने बनाउने हो । तर आफ्नो कर्मको भेउ नपाएर उपलब्धीको रुपमा देखाउन कुनै माखोे नमारे पनि चरम पिडामा राजनीतिक स्वार्थका घातक कुकर्महरु निम्त्याएर रमिते नमच्याउदा प्रतिपक्षको भलो नै हुन्थ्यो ।

जीवनमा स्वास्थ्य भन्दा ठूलो कुरो अरु छैन । महामारीले पालै–पालो प्रत्येक देशमा बाध फुटेर उर्लिएको भेलभैm उर्लिएर हट स्पट बनाउदै गइरहेको छ । कसैगरि नेपालमा महामारी अचाक्लि सल्किएमा नियन्त्रण गर्ने ठूलो तागत हामीसँग छैन । बिगतका सानातिना बाढी पहिरोका बिपत्तिहरु टार्न हम्मेहम्मे परेको सरकारलाई यो महामारीको दबदबा झेल्न सजिलो पक्कै छैन । अत्याधुनिक सुविधा सम्पन्न अस्पताल र ठूलो स्वास्थ्य जनशक्ति हामीसँग छैन । चीनले भैm रातारात हजारौ शैयाको अस्पताल तयार पार्न हाम्रो बलबुताले भ्याउदैन । चिकित्सा आविष्कारमा संसारमै अब्बल कहलिएको अमेरिका आज धुरुधुरु रोइरहेको छ । यहाँ प्लाष्टिकका सामान्य सुरक्षाकवच भिरेर जीउ–ज्यानको बाजी मारेर स्वास्थ्यकर्मीहरु मानव सेवाको कर्तव्यमा रातदिन भोकभोकै खटेका छन् । लाग्छ कि सबै समस्या, दुःख, कष्ट निवारण गर्ने जिम्मा यिनैको हो ।

नेपालमा छिट्टै भयावह आउने स्थिति छ है भन्दै बिज्ञहरुले हिजो चर्को स्वरमा चेतावनी र सुझाव दिईरहदा सरकारले पटक्कै सुनेन, उल्टै राजनीतिक चस्माबाट हेर्न थाल्यो । बिकसित र सक्षम देशका मानिसको त्यो अवस्था हुँदा आम नागरिकले छिट्टै उपकरणको जोहो गरि परीक्षणको दायरा बढाऊ भने । अस्पतालमा आइसीयू, भेन्टिलेटर लगायत गतिलो पूर्वाधार क्षमता निर्माण गर भने, सरकारले सुनेन । देशवासीले संकटमा आहालबिहाल भएर कैयन समस्या र सवालहरुमा सरकारलाई खबरदारी गरे, कराए, अनि घच्घच्याए, तर सरकारले कसैलाई नसुनि खेलाएर बस्यो ।

हेर्दाहेर्दै कोरोनाले कसरी बिश्वव्यापी हुदै नजिकैको भारतमा हताहती माहोल बनायो, हामीले त्यो आँखै अगाडी देखेका छौ । आजको यो जटिलतामा हरेक मानवको व्यवहारिक जीवन तहसनहस भैरहेको छ । कहाली लाग्दो संसारको यो अवस्थाबाट हामी सामान्य जीवनमा फर्किन त्यति सजिलो पक्कै छैन । प्रसवकालको प्रसव वेदना सहन गाह्रो त हुन्छ, तर सहनुको विकल्प पनि छैन । आशा छ, स्थिति थप बिग्रिने छैन । संसारको अन्त्य हुने छैन । यो महामारीको दुःखले सधैभरी झेल्ने छैन । समय बलवान मात्र हैन बुझिनसक्नु पनि छ । निश्चित छ, छिट्टै एकदिन महामारीको अन्त्य हुनेछ । थोरै हार्नेछन् । भाग्यले धेरै बाच्नेछन् । अनि यो अनकन्टार हट्नेछ । नेताजी गरिव र मजदुरका कथा सुनाएर फेरि चुनाव जित्नेछन् ।

लेखकले महामारीका कथा अझै गहिरोगरि लेख्नेछन् । मिठा–मिठा कहानीमा फिल्म बन्नेछन् । आकासमा प्लेन निर्वाधरुपमा उड्नेछन् । राजमार्गमा गाडीको लस्कर फेरि लाग्नेछ । सृष्टिकर्ताले रचेको यो सुन्दर संसारमा जीवन फेरि चल्नेछ । संघर्ष फेरि जारी रहनेछ । समुदाय फेरि अगाडी दौडिनेछ । चक्र घुमिरहनेछ । इतिहास कोरिदै जानेछ । आशा छ, सरकारले जति पटक लामो संवोधन पढेपनि नेपाली जनताको दृढता र प्रयासले हिजोआज यूरोप अनि अमेरिकामा देखिए जस्ता दुःखद परिदृष्यहरु नेपालमा देखिने छैनन् । महामारी युद्घको दशाले देश भड्खालोमा फस्ने छैन । आम नागरिकको सपना बनेको त्यो गाऊ अनि पाखो भोलिका दिनमा चम्किनेछ । पिडाले गिजोलेर गरिवका आशु जति बग्ने बगिसके अब बग्ने छैन ।

यो निश्चित नै छ, महामारीमा घटीत यावत समस्याहरुको समाधान हुदै जानेछ । श्रमिकहरुले गुमेको रोजगारी फेरि कुनै दिन पाउने नै छन् । व्यपारीहरुले व्यवसायमा भोगेको घाटा फेरि पुर्ति गर्ने नै छन् । बिधार्थीहरुले छुटेको कोर्स फेरि पूरा गर्ने नै छन् । बिश्वकै थला परेको पूँजीबाद फेरि तंग्रिने नै छ । तर गुमेको अमूल्य मानव–जीवनको पुनःप्राप्ति कहिल्यै हुनेछैन । त्यसैले जीवनरक्षाको लागि सरकार तिमि थप संवेदनशिल र जिम्मेवार भएर सच्चा अभिभावकको भूमिका निभाउनु पर्ने आबश्यकता अहिले छ । नागरिकको मनभित्र उम्लिएको निराशाको बादल कसरी हुन्छ हटाउनु पर्ने अवस्था आज छ । जनताको शीरमा थपिएको पिडाको बोझलाई घटाउदै जानुपर्ने समय बर्तमानमा छ । यो संबेदनशील आत्मिक चोटको पिडाको घडीमा हामी सवै नागरिक स्तरले पनि सहयोग, सदभाव र धैर्यताका साथ सहि संस्कार अनि असल भूमिका निभाएमा परिस्थिति छिट्टै सजिलै काबुमा आउने छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement