काठमाण्डु– सरकारी कार्यालयमा ११ हजार ४ जना कर्मचारी अनुशासन उल्लंघनमा परेको पाइएको छ ।
राष्ट्रिय सतर्कता केन्द्रका अनुसार गत चैतदेखि साउनसम्म गरिएको कार्यालय अनुगमनका क्रममा ११ हजार ४ जना कर्मचारी अनुशासन उल्लंघनमा परेको पाइएको हो ।
केन्द्रका अनुसार अनुगमन गरिएका कार्यालयमा आचारसंहिता तथा समय पालना नगर्ने १० हजार २६८ जना, तोकिएको पोशाकमा उपस्थित नभएका ६४५ जना र आफ्नो कार्यकक्षमा नभेटिएका ९१ जना कर्मचारी रहेका छन् ।
केन्द्रले उनीहरूलाई प्रचलित कानुनबमोजिम कारबाही गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।
प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकार गठनयता सरकारी कार्यालयमा अनुशासन उल्लंघन गर्ने कर्मचारीमाथि निगरानी र कारबाही तीव्र पारिएको छ ।
गत वर्षको तुलनामा यस वर्ष सरकारी कार्यालयको अनुगमनसमेत उल्लेख्य रूपमा बढाइएको छ । विसं २०८१ चैतदेखि २०८२ साउनसम्म ३१८ वटा कार्यालय अनुगमन गरिएकोमा यस वर्ष सोही अवधिमा अनुगमन गरिएका कार्यालयको संख्या झन्डै तीन गुणाले बढाएर ९२४ पुर्याइएको छ ।
यसैगरी, सरकारी कार्यालयमा जनगुनासो सुनुवाइको प्रक्रिया पनि तीव्र बनाइएको छ । गत चैतदेखि साउनसम्म केन्द्रमा दर्ता भएका एक हजार २९८ उजुरीमध्ये एक हजार ११४ वटा अर्थात् ८५.८२ प्रतिशत उजुरी फछ्र्यौट गरिएको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ११.७२ प्रतिशत विन्दुले बढी हो ।
अघिल्लो वर्ष ५५६ उजुरी दर्ता भएकामा ४१२ वटा अर्थात् ७४.१० प्रतिशत उजुरी फछ्र्यौट भएका थिए ।
सार्वजनिक सेवा प्रवाहमा देखिएको ढिलासुस्ती, अनुशासनहीनता तथा अन्य अनियमितता नियन्त्रण गर्दै सरकारी सेवालाई नागरिकमैत्री र प्रभावकारी बनाउन केन्द्रले अनुगमन तथा कारबाहीलाई थप तीव्रता दिएको जनाएको छ ।
सरकारी निकायमा भ्रष्टाचार, कर्मचारीको आचारसंहिता उल्लंघन वा शंकास्पद सम्पत्तिसम्बन्धी सूचना राष्ट्रिय सतर्कता केन्द्रको हटलाइन नम्बर ०१४२००३४५ मा फोन गरी दिन सकिने केन्द्रले जनाएको छ ।उन सकिन्छ ।




प्रतिक्रिया