गठबन्धनमा पेचिलो बन्दै सिट बाँडफाट, ६० सिट पाउनेमा माओवादी विश्वस्त


काठमाण्डु – आसन्न निर्वाचनमा तालमेल गरेर जाने सहमति गरेका पाँच दलीय सत्ता गठबन्धनलाई सिट बाँडफाट गर्न सकस परेको छ । प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि गठबन्धनमा रहेका दलहरुले आ–आफ्नो दावी नछाडेपछि भागबण्डाको विषय पेचिलो बन्दै गएको हो ।

गठबन्धनका शिर्ष नेता र कार्यदलको संयुक्त बैठक दिनहुँजसो बसेपनि हालसम्म सिट बाँडफाटमा कुनै ठोस सहमति हुन सकेको छैन । सिट बाँडफाँटको टुंगो नलाग्दै दलहरुले आआफ्नो पार्टीबाट आकांक्षी उम्मेदवारको नाम धमाधम सिफारिस गरिरहेका छन् ।

गठबन्धन दलभित्र आसन्न निर्वाचनमा क्षेत्रमा कहाँ कुन दलबाट उम्मेदवारी दिने भन्नेबारे महिनौदेखि निरन्तर छलफल भइरहेको छ । तर, दलहरूको अडानले लामो प्रयास गरिएपनि ठोस निष्कर्ष निकाल्न सकेको छैन ।

आफूले दाबी गरेकोभन्दा सिट संख्या घट्नुपर्ने भएकोले भागबन्डा नकिलेको हो । दुई दिनभित्रमा सिट बाँडफाँट टुंगिने गरी सहमति गरेर प्रतिवेदन शीर्ष नेतालाई पेश गर्ने कार्यदलको तयारी छ । त्यसकै लागि आज पनि कार्यदलको बैठक बस्दैछ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भोलि (बुधवार) सम्ममा सिट बाँटफाँट टुंगो लगाउने गरी छलफल भइरहेको बताए । धनगढी विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै प्रचण्डले एकदुई दिनभित्र शीर्ष तहका नेताहरु बसेर सिट टुंगो लगाउने तयारी भइरहेको जानकारी दिएका हुन् ।

उनले सिट बाँडफाँटको प्रस्ताव ल्याउने जिम्मा पाएको कार्यदललाई आज बेलुकीसम्मको समय दिइएको पनि बताए । माओवादी केन्द्रले पनि ६० सिटमा दाबी गरेको भन्दै उनले त्यसकै वरिपरि सहमति जुट्ने विश्वास व्यक्त गरे ।

यसैगरी नेपाली कांग्रेसले सुरुमा एक सय सिटमा दाबी गरे ८० सिट आसपासमा सहमति हुने सम्भावना रहेको प्रचण्डले बताए । उनले भने,‘कांग्रेसको दाबी सय सिटमा भए पनि ८० वरपर र माओवादी ६० वरपर हुने गरी मिलाउने प्रयास भइरहेको छ, केही तलमाथि हुनसक्छ ।’

उनले एकीकृत समाजवादीले २५ र जसपाले २५ दाबी गरेको आधारमा सबै पार्टीका प्रतिनिधि बसेर संघ र प्रदेशको एकसाथ टुङ्गोमा पुग्ने बताए ।

प्रतिक्रिया दिनुहोस
Advertisement