कस्तो थियो अञ्जन केसीको सट्टेबाजी धन्दा : गुन्डादेखि प्रहरीसम्म


काठमाडौं – अन्र्तराष्ट्रिय फुटबल तथा क्रिकेटमा हुने सट्टेबाजीमा गुन्डादेखि प्रहरी अधिकारीहरुको समेत संलग्नता हुने गरेको खुलेको छ । प्रहरीले सोमबार पक्राउ गरेका गौरव तिवारीको समूहमा प्रहरी अधिकारीहरु नै संलग्न रहेको खुलेको हो ।

पक्राउ पर्नेमा ३५ वर्षीय अञ्जन केसी, २७ वर्षीय गौरव तिवारी, ३८ वर्षीय भुपेन्द्र शम्शेर कुँवर, २७ वर्षीय दिनेश बोगटी,३६ वर्षीय विजय श्रेष्ठ, ३१ वर्षीय नरेन्द्र सुवाल रहेका छन्। विभिन्न खेलमा सट्टाबाजी खेलाउने पूर्वराष्ट्रिय फुटबल खेलाडी अञ्जन केसीसहित ६ जनालाई काठमाडौं प्रहरीले पक्राउ गरि आज पत्रकार सम्मेलनगरि सार्वजनिक गरेको छ ।

तिवारीका दर्जनौं साथीहरु प्रहरी रहेको र उनीहरुले समेत बाजी लगाउने गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ। यद्यपि त्यस विवरणलाई गोप्य राखिएको छ। त्यस्तै, गुन्डा नाइके दावा लामा लगायतको समूहले पनि हरेक दिन लाखौं बाजी लगाउँदै आएको थियो। राजधानीका केही डिस्कोका सञ्चालकहरु समेत यसमा संलग्न छन्। उनीहरूबाट आइफोन ८ थान र अन्य मोबाइल एक थान, ल्यापटप १ थान,गौरवबाट २ लाख, चेकबुक भिसा कार्ड लगायतका सामग्रीहरू बरामद गरिएको प्रहरीले पत्रकार सम्मेलनमा बताएको छ ।

यस्तो थियो धन्दा

सुरू सुरूमा नागराज भनिने अमृत अग्रवालसँग मिलि गौरव तिवारीसँग अनलाइन बेटिङ (अनुमान गरेर लगाउने बाजी ) सञ्चालन गरेको थिए। काम गर्ने शिलशिलामा लेनदेनको विवादपछि गौरव आफैंले लण्डनबाट अकाउण्ट खोली अनलाइन बेटिङ सञ्चालन गरे। २४ वटा अकाउण्ट खोलेर अनलाइन बेटिङमार्फत् उनले सात करोड बराबरको कारोबार गरेको भेटिएको छ। भुपेन्द्र कुँवरले गौरवसँग मिलि अनलाइन बेटिङ सञ्चालन गरेका थिए। हाल भारतमा भएको आइपिएल खेलमा ३ करोड २२ लाख ९७ हजार कारोबार भएको अनुसन्धानबाट खुल्न आएको छ।

अञ्जन केसीले भुपेन्द्रसँग मिलि विगत २ वर्षदेखि अनलाइन बेटिङ खेलाउँदै आएका थिए। भारतमा भएको आइपिएल खेलमा र युनियन अफ युरोपियन फुटबल एशोसिएशनमा २ करोड ७७ लाख पाँच हजार कारोबार भएको थियो। विजय श्रेष्ठले विगत १ वर्षदेखि भुपेन्द्रमार्फत खेल खेलाउँदै आएका थिए। त्यस अवधिमा १ करोडको कारोबार भएको थियो।

यस्तै, नरेन्द्र सुवालले १ वर्षदेखि विजयसँग मिलि खेल खेलाउँदै आएको थिए। जसमा ७७ लाख बराबरको कारोबार भएको थियो।
दिनेश बोगटी गौरवको सहयोगी बनि एजेण्टसमक्ष रकम लाने र एजेण्टबाट रकम लिने गर्ने गर्थे।

सट्टेबाजले कसरी कमाउँछन्?

बाजी राख्नेहरुलाई उनीहरुले तीन वटा विकल्प दिन्छन्। दुई वटा टिमको पक्षमा र खेल बराबरीको। फुटबलको बाजीमा ९० मिनेटभित्रको खेलको नजिता लागू हुन्छ। ९० मिनेटभित्र दुई टिम बराबरी हुने सम्भावना हुने भएकाले कतिपयले बराबरीमा पनि बाजी लगाउने गर्छन्। तीन वटा विकल्पमा बाजी आउने तर तिर्नुपर्दा एक पक्षलाई मात्र तिर्ने भएकाले खेलाउनेहरु सधैं नाफामा हुन्छन्। क्रिकेटमा भने कसले टस जित्छदेखि म्यान अफ दी म्याच को हुन्छ भन्नेसम्ममा बाजी लाग्ने गरेको छ।

प्रतिक्रिया दिनुहोस
Advertisement