साउदीमा कामविहीन भएका नेपालीलाई स्वदेश फर्काइँदै

साउदीमा कामविहीन भएका नेपालीलाई स्वदेश फर्काइँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – साउदी अरबमा कामविहीन भएका नेपाली कामदारलाई स्वदेश फर्काउने पहल सुरु भएको छ ।

नेपाली दूतावास साउदी अरेबियाले स्थानीय जुबेलस्थित सेन्दान इन्टरेनसनल कम्पनीमा कामविहीन भएका नेपाली कामदारलाई स्वदेश फर्काउनका लागि पहल थालेको छ ।

रोजगारदाता कम्पनी टाट पल्टिने अवस्थामा पुगेपछि कामविहीन भएका ४६९ नेपाली नागरिकमध्ये केहीले तलबभत्ता उपलब्ध गराउन र नेपाल फिर्ता तथा अन्य कम्पनीमा स्थानान्तरणका लागि पहल गरिदिन अनुरोध गरेका थिए ।

कामदारको अनुरोधपछि दूतावासले समस्या समाधानका लागि निरन्तर कूटनीतिक पहल गरिरहेको छ ।

नेपाल फर्कन चाहनेको हकमा बहिर्गमन भिसाका लागि साउदी सरकारको सम्बन्धित श्रम कार्यालयलाई आवश्यक कागजात समेत पठाइसकिएको नेपाली दूतावासले जनाएको छ ।

साउदी अरबबाट नेपाल जान इच्छुक नेपाली श्रमिकलाई र विशेषगरी सेन्दान इन्टरनेसनल कम्पनीमा कार्यरतलाई तत्काल बहिर्गमन भिसा जारी गरिदिन अनुरोध गर्दै आवश्यक पहल गरिसकिएको दूतावासले जनाएको छ ।

नेपाल फर्कन चाहनेको हकमा बाँकी सेवा सुविधा प्राप्त गर्ने कानुनी आधार पूरा गरी फर्काउने तथा साउदी अरबका अन्य कम्पनीमा स्थानान्तरण भई रोजगार गर्न चाहनेका लागि आवश्यक प्रक्रियालाई सहजीकरण गर्न साउदी सरकारको श्रम मन्त्रालय र सम्बन्धित अन्य निकायहरूमा भएका वार्ता तथा छलफल सकारात्मक रूपमा अगाडि बढेको छ ।

समस्यामा परेका नेपाली नागरिकलाई धैर्यताका साथ रहन तथा खाना, आवास र स्वास्थ्यसम्बन्धी समस्या परेमा राजदूतावासमा सम्पर्क गर्न भनिएको छ ।