सभामुख सापकोटाको कदमप्रति अध्यक्ष तिमिल्सिना असन्तुष्ट

सभामुख सापकोटाको कदमप्रति अध्यक्ष तिमिल्सिना असन्तुष्ट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – सभामुख अग्नि सापकोटा र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबीचको मनमुटाव सतहमा देखिएको छ । सभामुख सापकोटाले संघीय संसद्को ‘कार्यवाहक’ महासचिवमा गोपालनाथ योगीलाई तोकेपछि त्यसमा राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले आपत्ति जनाएका छन् ।

सभामुख सापकोटाले बुधबार प्रतिनिधिसभा र राष्ट्रिय सभामा रहेका विभिन्न समितिका सभापति, सभामुख र अध्यक्षबीच छलफल राखेकामा मनमुटावको प्रभाव देखिएको छ । अध्यक्ष तिमिल्सिनाले सो बैठकमा आफू उपस्थित हुन नसक्ने सन्देश पठाएर असन्तुष्टि जनाए । उनले राष्ट्रिय सभाअन्तर्गतका समिति सभापतिलाई पनि बैठकमा नजान सल्लाह दिएको बताइएको छ ।

‘अध्यक्षज्यूले कार्यवाहक महासचिवको विषयमा सरसल्लाह भएन भनेर भन्नुभयो,’ राष्ट्रिय सभाको दिगो विकास सुशासन समितिकी सभापति तारादेवी भट्टले भनिन् । अध्यक्ष तिमिल्सिनासहित राष्ट्रिय सभा र प्रतिनिधि सभाका धेरै समितिका सभापति नआउने भएपछि सभामुख सापकोटाले बुधबारको बैठक स्थगित गरेका छन् ।

सभामुख सापकोटाले २ चैतमा प्रतिनिधिसभाका सचिव योगीलाई ‘संघीय संसद्को महासचिव भई कामकाज गर्न तोकेको’ पत्र दिएका थिए । सो पत्रमा ‘राष्ट्रिय सभा अध्यक्षको परामर्शमा कार्यवाहक तोकिएको’ भन्ने उल्लेख थियो ।

आफूसँग परामर्श नगरी, पत्रमा गरेको भनेकामा तिमिल्सिनाले सभामुख सापकोटासँग आपत्ति जनाएका हुन् । योगीलाई कार्यवाहक तोकिएपछि रिसाएका तिमिल्सिनालाई भेट्न सभामुख सापकोटा मंगलबार सिंहदरबारस्थित उनकै कार्यकक्षमा पुगेका थिए ।यो समाचार आजको राजधानी दैनिकमा छ ।