सभामुख निर्वाचन प्रक्रिया एक सातापछि


काठमाडौं – संघीय संसद्का दुवै सदनको पाँचौं अधिवेशन बैठक शुक्रबारबाट सुरु भएको छ । शुक्रबार प्रतिनिधिसभामा उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेले अध्यक्षता गरिन् भने राष्ट्रिय सभाको अध्यक्षता गणेशप्रसाद तिमिल्सिेनाले गरे ।

संघीय संसद्को अपराह्न ४ बजे बसेको दुवै सदनको बैठकमा अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाएपछि अधिवेशन औपचारिक रूपमा आरम्भ भएको हो । संविधानको धारा ९३ को उपधारा १ बमोजिम संघीय संसद्का दुवै सदनको बैठक आरम्भ भएको बेहोराको राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रलाई प्रतिनिधिसभाकी उपसभामुख डा. तुम्बाहाम्फेले पढेर सुनाइन् भने राष्ट्रिय सभामा अध्यक्ष गणेशप्रसाद तिमिल्सिेनाले पढेर सुनाए ।

संघीय संसद्का दुवै सदनको शुक्रबार बसेको बैठकले विभिन्न समयमा निधन भएका चार जना पूर्वसांसदको निधनमा शोक प्रस्ताव पारित गरेको छ । बैठकले २०५१ सालमा तात्कालीन नेकपा एमालेको तर्फबाट संखुवासभा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा निर्वाचित सदस्य हरि वैरागी दाहाल, २०७० सालको संविधानसभा निर्वाचनमा नेकपा एमालेबाट समानुपातिकमा निर्वाचित सदस्य कमलाकुमारी घिमिरे, २०५१ सालमा नेकपा एमालेको तर्फबाट धनुषा क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभामा निर्वाचित सदस्य रामलखन महतो र २०७० सालको संविधानसभा निर्वाचनमा नेपाली कांग्रेसबाट भक्तपुर जिल्ला क्षेत्र नम्बर २ बाट निर्वाचित सदस्य रामेश्वर ढुंगेलको निधनमा छुट्टाछुट्टै शोक प्रस्ताव पारित गरेको हो ।

प्रतिनिधिसभाको अर्को बैठक ११ पुस शुक्रबार दिउँसो १ बजेका लागि बोलाइएको छ । प्रतिनिधिसभाको सो बैठकबाट सभामुख चयनका लागि औपचारिक प्रक्रिया अघि बढाइने भएको छ । याे समाचार राजधानी दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement