मुस्ताङ- मुस्ताङको लोमन्थाङ गाउँपालिका–२ स्थित श्री दिव्य दीप माध्यमिक विद्यालयमा भारतीय सरकारको सहयोगमा निर्माण गरिएको छात्रावास भवन उद्घाटन गरिएको छ।
शुक्रबार भारतीय राजदूतावासका नियोग उपप्रमुख डा. राकेश पाण्डे र लोमन्थाङ गाउँपालिकाका अध्यक्ष टसी न्हर्वु गुरुङले संयुक्त रूपमा नवनिर्मित छात्रावास भवनको उद्घाटन गरेका हुन्।
भारत सरकारको उच्च प्रभाव सामुदायिक विकास परियोजना (एचआईसीडीपी) अन्तर्गत निर्माण गरिएको उक्त भवन लोमन्थाङ गाउँपालिकामार्फत कार्यान्वयन गरिएको थियो।
उद्घाटन कार्यक्रममा गाउँपालिका अध्यक्ष गुरुङलगायत स्थानीय सरोकारवालाले भारतीय सरकारको विकास सहयोगप्रति प्रशंसा गरेका थिए।
नयाँ छात्रावास भवनले विद्यार्थी तथा शिक्षकका लागि पठनपाठन र सिकाइको वातावरण सुधार गर्न सहयोग पुग्ने उनीहरूको विश्वास थियो।
भारतीय राजदूतावासका अनुसार उच्च प्रभाव सामुदायिक विकास परियोजना कार्यक्रमअन्तर्गत भारतले नेपालका सातवटै प्रदेशमा हालसम्म ६०५ वटा परियोजना अघि बढाएको छ।
तीमध्ये गण्डकी प्रदेशमा ६४ वटा परियोजना सञ्चालनमा छन्। मुस्ताङ जिल्लामा मात्रै १८ वटा परियोजना रहेका छन्।
त्यसैगरी, भारत सरकारले गण्डकी प्रदेशका स्वास्थ्य तथा शिक्षा क्षेत्रमा कार्यरत संस्थाहरूलाई १२६ वटा एम्बुलेन्स र ५२ वटा स्कुल बस उपहारस्वरूप उपलब्ध गराएको छ। तीमध्ये मुस्ताङ जिल्लाले ११ वटा एम्बुलेन्स र ६ वटा स्कुल बस प्राप्त गरेको छ।
भारतले उच्च प्रभाव सामुदायिक विकास परियोजनामार्फत नेपालका विभिन्न क्षेत्रमा पूर्वाधार निर्माण तथा विकासका कार्यक्रम सञ्चालन गर्दै आएको छ।
भारतीय राजदूतावासले यस्ता परियोजनाले नेपालको प्राथमिकताका क्षेत्रमा पूर्वाधार विस्तार र विकासका प्रयासमा सहयोग पुर्याउँदै आएको जनाएको छ।




प्रतिक्रिया