स्कटल्यान्डविरुद्ध नेपाललाई झड्का


काठमाडौं– जिम्बाबेमा जारी आइसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताअन्तर्गत स्कटल्यान्ड विरुद्धको खेलमा नेपाललाई सुरुवातमै झड्का लागेको छ ।

ओपनर ज्ञानेन्द्र मल्ल दोस्रो ओभरको पहिलो बलमै १ रनको झिनो स्कोर आउट भएका छन्। ज्ञानेन्द्र साफयान शरिफको बलमा बोल्ड भएका हुन्। अर्का ओपनर दिलीप नाथ पनि ४ रन बनाएर आउट भएका हुन्। नाथलाई विटिङघमले एलबिडब्लुको धरापमा पारेका हुन् ।

प्रतियोगितामा नेपालले दोस्रो खेल खेल्न लागेको हो । यसअघि नेपाल पहिलो खेलमा आयोजक जिम्बावेसँग १ सय १६ रनले पराजित भएको थियो। स्कटल्यान्डले भने तेस्रो खेलमा प्रतिस्पर्धा लागेको हो। यसअघि स्कटल्यान्डले पहिलो खेलमा अफगानिस्तान र दोस्रो खेलमा हङकङलाई पराजित गरेको थियो।  स्कटल्यान्ड र नेपालबीच एकदिवसीय खेलमा पछिल्लो चार वर्षमा तीन पटक प्रतिस्पर्धा भएको छ।

पछिल्ला तीन वटै खेलमा नेपालले पराजय भोगेको छ। सन् २०१४ को विश्वकप छनोटमा स्कटल्यान्डले नेपाललाई ९० रनको फराकिलो अन्तरले पराजित गरेको थियो। सन् २०१५ मा आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत नेपाल र स्कटल्यान्डबीच पहिलो चरणमा दुई खेल भएका थिए। स्कटल्यान्डमा भएको दुवै खेलमा नेपाल पराजित भयो।

बुलावायो मैदानमा जिम्बावेले पहिलो खेलमा ३ सय ८० रन बनाएको थियो। यही मैदानमा जिम्बावेले १ सय ९७ रनको लक्ष्य पछ्याएको अफगानिस्तानलाई रोक्न सफल भयो । दुवै खेलमा स्पिनरले राम्रो प्रदर्शन गरेका छन्। नेपाल र स्कटल्यान्डबीचको खेलमा पनि स्पिनरले राम्रो प्रदर्शन गर्न सक्नेछन्।

प्रतिक्रिया दिनुहोस
Advertisement