काठमाण्डु – यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) आजबाट सुरू भएको छ। एसइई परीक्षा देशैभर बिहान ८ बजेदेखि सुरु भएको हो ।
८ बजेदेखि सुरु भएको परीक्षा ११ बजेसम्म चल्ने छ । आज पहिलो दिन अङ्ग्रेजी विषयको परीक्षा दिइरहेका छन् । परीक्षा चैत २७ गते सम्पन्न हुनेछ ।
परीक्षामा सामुदायिक तथा संस्थागत गरी १० हजार आठ सय छ विद्यालयका दुई लाख ५० हजार सात सय ७२ छात्रा, दुई लाख ५३ हजार छ सय २७ छात्र र अन्य १५ जना गरी कूल पाँच लाख चार हजार चार सय १४ परीक्षार्थी सहभागी हुने परीक्षा नियन्त्रण कार्यालयले जनाएकाे छ ।
परीक्षा नियन्त्रण कार्यालयका अनुसार कूल परीक्षार्थीमध्ये पाँच सय छ विद्यालयका १५ हजार सात सय ४९ जना परीक्षार्थी प्राविधिक धारतर्फका छन् ।
विगतका एसईई परीक्षामा सैद्धान्तिक र प्रयोगात्मक दुवै जोडेर ३५ प्रतिशत अंक ल्याउनुपर्ने प्रावधान रहेकामा यस वर्षदेखि विद्यार्थीले सैद्धान्तिकमा ३५ र प्रयोगात्मकमा ४० प्रतिशत अंक ल्याउनैपर्ने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।
प्रतिक्रिया