सीमा सुरक्षा निगरानी थप मजबुत बनाउँदै


काठमाडौं – अतिक्रमण बढेपछि सरकारले सीमामा सुरक्षा बढाएको छ। सशस्त्र प्रहरीले बोर्डर अब्जरभेसन पोस्ट (बीओपी) थप गरेको हो। सशस्त्रलाई सीमा सुरक्षाको जिम्मेवारी दिइएको छ। सुरक्षा बलको उपस्थिति कमजोर भएपछि अतिक्रमण बढ्दै गएको थियो।

भारतले सीमामा सुरक्षा उपस्थिति बाक्लो बनाएपछि नेपालको पनि चासो बढेको हो। सीमा निगरानी थप मजबुत बनाउँदै लगिएको सशस्त्रका प्रवक्ता एवं सशस्त्र डीआईजी सुरजकुमार श्रेष्ठको भनाइ छ। उनका अनुसार नेपाल–भारत सीमामा १ सय ७ वटा बीओपी छन्। एक वर्षमा २० वटा थप गरिएको हो। पूर्व, पश्चिम र दक्षिणी सीमामा गत वर्षसम्म ८७ वटा मात्रै बीओपी थिए। १५ हजार हाराहारीमा जनशक्ति सीमामा तैनाथ छन्। भारतसँग सीमा जोडिएका २२ जिल्लामा बीओपी छन्। लिम्पियाधुरा–लिपुलेक–कालापानीको विवाद भएको जिल्ला दार्चुलामा भने छैन। पश्चिम पहाडका बैतडी, डडेलधुरा र पूर्वका पाँचथर र ताप्लेजुङमा बीओपी छैन। चालू वर्ष २५ बीओपी थप्ने योजना छ।

भारतसँग १ हजार ८ सय ८० किलोमिटर सीमामा १८–२० किलोमिटर दूरीमा बीओपी छन्। त्यसलाई घटाएर ५–७ किलोमिटरमा बीओपी राख्ने तयारी छ। दसगजाको एक किलोमिटरभित्रै बीओपी राखिने उनले बताए। सीमानजिकै सकेसम्म ५ सय मिटरभित्र बीओपी बनाउने तयारी छ। हाल दसगजाबाट ४–५ किलोमिटर टाढा छन्। सशस्त्रले बीओपी थपेर २ सयभन्दा बढी पुर्‍याउने योजना बनाएको छ। यो समाचार अन्नपूर्णपोष्ट दैनिकमा छ।

प्रतिक्रिया दिनुहोस
Advertisement