सेनाको विश्लेषण : विप्लव र सिके राउत आन्तरिक सुरक्षा चुनौती


काठमाडौ- जंगी अड्डामा बसेको सैनिक पृतनापतिहरुको समन्वयात्मक बैठकले विप्लव र सिके राउत आन्तरिक सुरक्षामा चुनौतिपूर्ण रहेको निष्कर्ष निकालेको छ। आइतबारदेखि दुई दिनसम्म चलेको बैठकले नेपालको आन्तरिक सुरक्षामा विप्लव र सिके राउत मुख्य सुरक्षा चुनौति रहेको निष्कर्ष निकालेको सैनिक स्रोतले जानकारी दिएको छ। सेनाको आन्तरिक अध्ययनले तत्कालका लागि यी दुई समूह आन्तरिक सुरक्षाका लागि चुनौतिपूर्ण रहेको देखिएपछि त्यसलाई कसरी सामना गर्ने भन्ने विषयमा सेनाको पृतनामा छलफल भएको स्रोतले जनायो।

समन्वयात्मक बैठकमा पृतनापतिले हाल सानो समूहमा रहेका यी दुई समूह भविष्यका लागि चुनौतिपूर्ण रहेको भन्दै भविष्यमा आईपर्न सक्ने चुनौतीलाई कसरी सम्बोधन गर्ने भन्ने विषयमा सुझाव दिएका थिए।

सैनिक प्रवक्ता सहायक रथी गोकुल भण्डारीले पृतना बैठकमा आन्तरिक तथा बाह्य सुरक्षा चुनौतिका विषयमा छलफल हुनु स्वभाविक भएको बताए। ‘आन्तरिक तथा बाह्य रुपमा के कस्ता सुरक्षा चुनौति छन् भनेर सेनाले अध्ययन गरिरहेको हुन्छ। यदी कुनै समूहबाट चुनौति रहेको देखिएमा त्यससँग कसरी जुध्ने भन्ने विषयमा छलफल गर्नु नियमित र सामान्य प्रक्रिया हो,’ भण्डारीले भने।

बैठकमा कार्यालय, विभाग, महानिर्देशनालय, निर्देशनालय तथा सबै पृतनाहरुले आ–आफ्नो जिम्मेवारी क्षेत्रको कार्य समिक्षा, वर्तमान वस्तुस्थिति, भविष्यमा आईपर्न सक्ने चुनौतीका विषयमा सुझाव दिएका थिए। आजको नागरीक दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement