साहित्य

बन्दुक बिसाएर ब्यङ्ग्यबाण तिखार्दै सेनाका पुर्व जर्नेल !

-शुभाष चन्द्र पोख्रेल 

हास्यब्यङ्ग्यका लागि बहाना र परिघटना खोज्ने हो भने नेपाली समाज अझ पनि उर्बर छ ! उर्बर यो अर्थमा कि ब्यङ्ग्य बर्षाउनुपर्ने अनगिन्ती बेथिति अझ पनि ज्युँ का त्यु छन ! सामाजिक/राजनीतिक परिवेशमा बिकृती र बिसंगती ब्याप्त भइरहदा यस्ता बिकृतिलाइ प्रहार गर्न हास्यब्यङ्ग्य संग्रहकै रूपमा सृजनात्मक क्षेप्यास्त्र भने आजभोलि निकै कम नै प्रकाशित हुँदै छन !

हुन त हास्यब्यङ्ग्य आफैमा कुनै स्वतन्त्र बिधा नभै कला साहित्यको जुन सुकै बिधामा घुसाउन सकिने सर्बब्यापी अंग हो ! हास्यब्यङ्ग्य तरकारीमा आलु जस्तै हो , माटोमा एक्लै फले पनि पकवान बनाउदा चाहिँ जुन सुकै परिकारमा मिल्न सक्ने ! फल्न पनि समुन्द्र सतह देखि हिमाल सम्म जहाँ तहि फल्ने ! हो त्यस्तै आलु झै सरल तर व्यापक गुणग्राही शैली हो हास्यब्यङ्ग्य ! त्यसैले त आजभोलि सामाजिक सञ्जाल , पत्रपत्रिका , टेलिभिजन , फिल्म लगायतका माध्यमबाट हास्यब्यङ्ग्यका फुटकर खुराक बर्षिरहेकै छ्न ! हास्यब्यङ्ग्यको रसस्वादन गर्न अनेक सजिलो माध्यम उम्रीएका कारणले गर्दा पनि होला आजभोलि पुस्तकारमा ब्यङ्ग्य संग्रह निस्कन पातलो भएको !

ब्यङ्ग्य संग्रह निकाल्ने होड निम्छरो बन्दैगरेको पछिल्लो समयलाई केही ढाडस दिन आइपुगेका छन बलदेवराज महत ! अबकास प्राप्त तीन तारे जर्नेल महतले आफ्नो सक्रिय जीवनको झण्डै चालीस बर्ष नेपाली सेनामा बिताए ! सेनासँग जोडिएको उनको यो व्यावसायिक पाटोसँगै साहित्य लेखनको सशक्त दोश्रो परिचय पनि छ ! सर्जक महतको लेखनमा रोजाइ क्षेत्र मूलत कथा र निबन्ध हो ! बि.स. २०६६ सालमा ´अपुरो माया` र ´तिर्सना` नामक कथासंग्रह एकसाथ प्रकाशनमा ल्याएका महतको पछिल्लो कृति ´फाइदै फाइदा` हास्यब्यङ्ग्य निबन्ध संग्रहका रूपमा बजारमा आएको छ ! 

यो ब्यङ्ग्य संग्रह २०७४ सालमा प्रकाशित भए पनि यसमा समाहित सबै निबन्धहरू २०४९ देखि २०६५ साल भित्र लेखिएका हुन ! यो समय भनेको नेपालको सन्दर्भमा राजनीतिक हिसाबले सबैभन्दा पेचिलो र संक्रमित समय हो , त्यसैले पनि होला संग्रहमा उनिएका अधिकांस निबन्धले मनोसामाजिक बिकृतिलाई भन्दा ज्यादा राजनीतिक बेथितिलाइ ब्यङ्ग्य बाण हानेका छन ! समाजलाई सुकिलो र सङ्लो बनाउने दायित्व राजनीतिको हो , तर बिडम्बना , नेपालमा सबैभन्दा धमिलो केही छ भने त्यो राजनीति नै छ , अनि त ब्यङ्ग्य बाण खानबाट कसरी जोगिन सक्छ राजनीति ?

ब्यङ्ग्य संग्रहको पहिलो निबन्ध ´कल्पिए नारदजी`मा लेखकले देवदूत नारदलाई पृथ्वीमा आगमन गराएका छन ! खासमा नारदजीको ध्यय मर्त्यलोकमा भएका मध्य सबैभन्दा सस्तो र सुखी ठाउँबारे बह्र्माजीलाई सिफारिस गर्नु थियो , जो बह्र्माजीकै आदेश अनुसार यता ओर्लिका थिए ! संयोगले नारदजी मर्त्यलोकमा नेपाल नामको देशमा आइ टोपल्छन ! नारदजीले नेपालको बास्तबिकता बुझ्ने हेतु नमुना संकलनार्थ एक जना सरकारी जागिरेको चियो सुरू गर्दछन ! सुद्द सरकारी जागिरे एकजना हाकिमको दैनिकी , जीवनशैली, रवाफ र आलिसान मोजमस्तिको फेहरिस्त देख्दा नारदजीलाइ लाग्छ नेपाल त बडो अचम्मको भूखण्ड रहेछ ! जागिर गर्नेले त यति सब थोक भोग्न पाउछ भने अझ ठूलो र फराकिलो भूमिका भएका नेता,मन्त्री हरूको झन कस्तो सान सौखत र सुबिधा होला ?

नेपाल भन्ने देश त गजब मात्र होइन अचम्मकै रहेछ ! नारदजी यस्तै कुरामा कल्पिन्छन ! नारदजी लाई मर्त्यलोकमा पदार्पण गराइ स्वैरकल्पनाको फेरो समातेर ब्यङ्ग्यकारले हाम्रो भ्रष्ट कर्मचारीतन्त्र, मै खाउँ, मै लाउँ भन्ने स्वार्थी चरित्र अनि पद , पैसा र पहुचको मात्र पछि लाग्ने अनि त्यसैको मात्र जयजयकार गर्ने हाम्रो सामाजिक मनोवृत्ति माथी कसिलो प्रहार गरेका छन ! ´एउटा हाकिमले आफ्नो शुद्ध तलबमा आलिसान दैनिकी भोग्न पाउछ भने मर्त्यलोकमा नेपाल जत्तिको सस्तो ठाउँ अरु हुनै सक्दैन` ! यो निचोड नारदजीको हो , यसैबाट अन्दाज गर्न सकिन्छ निबन्धले दिन खोजेको ब्यञ्जना अर्थ !

संग्रहको दोश्रो निबन्ध ´बिद्यादान`मा लेखक महतले शिक्षाको ब्यापारीकरण लाई झटारो हानेका छन ! समाजमा सदाचार , सद्बुद्दिको जग भनेकै शिक्षा हो र शिक्षा आर्जनको थलो भनेकै बिद्यालय हो , तर यहाँ जे मा पनि शुभ-लाभको अपेक्षा र कमजोर नियमका कारण बिद्यालय समेत व्यापार अड्डा बन्न पुगेको तितो यथार्थलाई ब्यङ्ग्य बाण मार्फत उदाङ्गो पारेका छन ! 

´छोरीको बिहे` शिर्षकको रचना मार्फत बिहे सम्बन्धी सामाजिक जटिलता र उल्झनलाइ उधिनेका छन ! बिबाह सम्बन्धि हाम्रो सामाजिक मनोबिज्ञान केटा पक्ष अलि बढी नै हाबी हुने खालको छ , त्यही यथार्थलाई ब्यङ्ग्य मार्फत घोचपेच गर्ने लेखकको चेष्टा छ ! निबन्धको उत्कर्ष एवम अन्त्यमा बेहुली अर्थात बिहे गरिदिन आटेकी छोरी आफ्नै अफिसकै पियन केटासँग पोइल जान्छे ! त्यसैले यो निबन्धको अभिप्राय भनेको छोराछोरीको उमेर अनुसार स्वभाव र आचरणको पनि भाषा पढ्न सक्नु पर्छ , परिवार भित्र खुलेर अन्तरसंवाद हुनु पर्छ भन्ने पनि हो ! यो निबन्धले सुक्ष्म सामाजिक बिषयमा ब्यङ्ग्य पुट भर्न खोज्दा खोज्दै पनि निबन्ध अनावश्यक लामो हुँदा अपेक्षाकृत मर्मभेदी बन्न सकेको छैन ! नराखे पनि हुने झण्डै चालीस प्रतिशत शब्दले ´छोरीको बिहे` शिर्षकको निबन्धलाई छरितो र चटनी जस्तो तिख्खर हुन बाट रोकेका छन !

संग्रहको शीर्षक समेत रहेको ´फाइदै फाइदा` नामको अर्को निबन्धले निम्न आय हुने ´कामकाजीहरूको` पीडालाई रोचक तरिकाले प्रस्तुत गरेको छ ! थोरै तलब थाप्नु भनेको कम पैसा गन्नु हो, कम पैसा गन्नु भनेको पैसाका माध्यमबाट मात्र सम्भब हुने काम कम गर्नु हो , कम काम गर्नु , कम खर्च गर्नु भनेको तनाब पनि कम बेहोर्नु हो ! अनि भएन त फाइदा ? ´बिनोदी बिरोधाभाषको` शैलिमा निम्न आयको कस्टलाइ फाइदाका रूपमा परिभाषित गर्नुले निबन्धलाइ चोटिलो बनाएको छ ! 

´फाइदै फाइदा` संग्रहमा समेटिएका अरू निबन्धहरू बिदेश यात्रा, कान्छी, के गरूँ?, धर्मकर्म, रहर , चुनाव जितियो, लठ्ठी , चम्चा, बन्दको फाइदा हुन ! 

सामाजिक प्रतिष्ठाका नाममा खोक्रो आडम्बरी, राजनीति गर्ने नाममा धोखाधडी र नातावाद कृपावाद, जागिरका नाममा भ्रष्टाचार, अधिकारका नाममा अराजकता , उद्देश्य प्राप्तिका नाममा उग्रता ! यी सबै कुराहरू हामी नेपाली जनले नचाहदा नचाहदै पनि भोग्नु परेका र भोगिरहेका अभिसप्त ´बिमारी` हुन ! देश र समाजका यस्ता यावत बिमार प्रती लेखकले ब्यङ्ग्यको चाबुक चलाएका छ्न ! पक्कै पनि यो सराहनीय पाटो हो ! तर लेखकले कतिपय कमजोरीलाई आफ्नो लेखनमा सँगै डोहोर्याउदा हास्यब्यङ्ग्यमा अति जरूरी ठानिने पाठकिय ´ग्रीप` अलि खुकुलो बन्न पुगेको छ ! यसको मूल कारण व्यावसायिक जीवनमा लेखक महतका दुईवटा परिचय हुनु पनि होला ! बृती बिकासका लागि महतले फौजी पेशा रोजे अनि रूचि क्षेत्र जो उनको लेखन हो !

यी दुई फरक भूमिकाको तादाम्यता मिलाउन खोज्दा ब्यङ्ग्य लेखको घनत्व अलि कमजोर बनेको हो कि ? जस्तो : संग्रहमा समेटिएका तेह्रवटै निबन्ध बि.स. २०४९ देखि २०६५ को बिचमा लेखिएका छन ! यो समय भनेको महतका लागि फौजी क्यारियरको मध्य र उत्कर्षको समय हो ! `चेन अफ कमान्ड`को स्कुलिङ पालना गर्नु पर्ने बलदेव राज महतले सोही नामबाट देशमा विद्यमान बेथितिमाथी ब्यङ्ग्य बाण सोझ्याउदा आफ्नो फौजी पाटोमा ´ अनुसाशनको` प्रश्न उठन सक्ने डर बाट बच्न खोजेका हुन सक्छन ! त्यसैले उनले कुनै पनि बिषयलाइ बिशिस्टिकरण गरेर सम्बन्धित खराब पात्र / ब्यक्ती वा संस्थालाइ सोझै ब्यङ्ग्य ठोकेका छैनन् ! बिषयलाइ सामान्यिकरण गरेर बिसङ्गती प्रती सोलोडोलो प्रहार गरेका छन ! यद्यपि ब्यङ्ग्य गर्न हर कुनै क्षेत्रलाई बाँकी राखेका भने छैनन !

हास्यब्यङ्ग्य निबन्ध लेखनमा भैरब अर्यालको शैलीलाई निकै छरितो र सुसज्जित मानिन्छ ! अर्यालका निबन्ध पढ्दा महसुस हुने लयात्मकता, प्रयुक्त तुकबन्दी अनि अलङ्कार अनुप्रासको बेजोड प्रयोगले हास्यब्यङ्ग्य निबन्ध लेखनमा विशिष्ट मानक बनाएको छ ! स्रस्टा महतले पनि आफ्ना रचनाहरूमा तुकबन्दी अनि अलङ्कार र अनुप्रासको प्रयोगमा कुनै कन्जुस्याइँ गरेका छैन ! तुकबन्दी मिलाउने ध्याउन्नमा बडि रुमल्लिदा निबन्धमा बिषय मर्मता धिमा भएको हेक्का राख्न नसक्नु लाई महतको कमजोरिका रूपमा औल्याउँन सकिन्छ ! ´रचनामा तुकबन्दीको आधिक्यता हुदा शब्दाडम्बर बढ्छ र भाव पातलो भई त्यसको गाम्भीर्यता घट्छ ` यो निचोड समालोचक मोहनराज शर्माको हो ! शर्माले आफ्नो भुमिका लेखन मार्फत ´फाइदै फाइदा`मा तुकबन्दीका नाममा अलि शब्दाडम्बर भयो कि भनी लेखक महत तर्फ अप्रत्यक्ष संकेत गरेका छन ! 

सिर्जनाको जग भनेको समाज हो ! समाजले हिजो जे भोग्यो वा आज जे भोग्दै छ त्यसको प्रतिबिम्ब सृजनामा पोखिनु पर्छ ! अझ हास्यब्यङ्ग्य बिधा त सामाजिक परिघटनासँग झन बडि सापेक्ष भै जोडिएको हुन्छ ! हामिले भोगेका याबत बिकृती बिसंगती हाम्रै समाजका सह-उत्पादन हुन ! त्यसैले हामिले कहिले सम्म बिकृती बिसंगती भोगिरहने भन्ने प्रश्न गर्नु अगाडि हामिले कस्तो समाज निर्माणको हिस्सेदारी लिइरहेका छौ त्यसको उत्तर खोज्ने प्रयास गर्यौ भने बल्ल हाम्रो समाज सङ्लो बन्न थाल्ने छ ! राजनीति वा समाज र संस्कृतिलाइ सफा बनाउनकालागि हास्यब्यङ्ग्यको चाबुक निरन्तर चल्नु पर्छ ! तसर्थ ´हास्यब्यङ्ग्यको` शिल्पी बन्न लाई समाजको समसामयिक नाडी ठम्याउन सक्नु पर्छ ,अन्यथा हास्यब्यङ्ग्य एकलाप र भडास निकाल्ने माध्यममा परिणत हुन्छ ! समाज गतिशील छ र समाजको चाल अनुसार सृजनाको धार बग्न सक्यो भने मात्र कला साहित्यले ´समकालीन` पहिचान कायम राख्न सक्छ !

हास्यब्यङ्ग्य को कुरा गर्दा हिजो शक्तिबल्भ अर्यालले लेखेको ´हास्यकदम्ब` को केही ´चरित्र` आज पनि सान्दर्भिक हुन सक्छ ! भानुभक्त आचार्यको काब्यमा घुसेका ब्यङ्ग्य चेत , अनि लक्ष्मी प्रसाद देबकोटाका `प्रभु मलाइ भेडो बनाउ` होस अथवा ´पागल`कबिताको ब्यङ्ग्य बिद्रोह, भिमनिधि तिवारिका कबितामा पाइने ब्यङ्ग्य मर्म, केशबराज पिंडालिको ´खै- खै` ले बोकेको हास्यब्यङ्ग्य अनि भैरब अर्यालको `जय भुँडी` !

यी केही प्रतिनिधि नाम मात्र हुन जस्ले जिवन्त ´हास्यब्यङ्ग्य` लेखे ! लेखन चच्छु तीखो भएका स्रस्टाले सानो फिलिङ्गो सल्काएर हास्यब्यङ्ग्यको ज्वाला दन्काउन सक्छन ! तर पछिल्लो समय समाज प्रबिधिको परिबन्दमा जेलिएको छ ! फुर्सदले पढिने सामाग्री को भन्दा हतार हतार ´हेरिने , सुनिने` लतको दबदबा छ ! सामाजिक सञ्जालले मोटा मसिना सबै बिषयलाइ क्षणभरमै घोलघाल बनाइहाल्छ ! यस्ता चुनौती चिरेर मुलधारको लेखन धानी राख्नु चुनौतीपुर्ण बन्दै छ ! 

झण्डै चार दशकको सैन्य पेशाबाट निबृत्त भइ ´बन्दुकसँग औपचारिक पारपाचुके` गरेका बलदेवराज महतका लागि अब को ´रिटायर्ड` जीवन परिस्कृत लेखक बन्नकालागी पक्कै पनि उपयोगी बन्न सक्छ ! 

´फाइदै फाइदा` को प्रसंग कोट्याएर बिट मारौ ! हास्यब्यङ्ग्यका निबन्ध संग्रह निस्कन खडेरी पर्न थालेको अबस्थामा महतको ´फाइदै फाइदा` सराहनीय कृति हो तर कृति पाठक समक्ष पस्किनु अघि सम्पादन , शब्द सश्लेषण र पुनर्लेखनमा अल्छी गर्नाले निबन्धहरूको गति अलि धिमा बनेको छ ! आशा गरौ महतले अब जन्माउने हास्यब्यङ्ग्य सिर्जनामा अझ निखारता आउने छ ! 

फाइदै फाइदा 

लेखक : बलदेवराज महत 

बिधा : हास्यब्यङ्ग्य

प्रकाशक : सत्याल प्रकाशन 

मूल्य : रू २००

Comments

comments

Now Get KathmanduPati App on your mobiles.

Android AppiOS App
ad

धेरै पढिएको समाचार

Vianet
Civil
Shivam Cement
Yeti Airlines
Kumari Bank
Shikhar Insurance
Muktinath Development Bank
Nepal Vidhyapith

Now get KathmanduPati App on your mobiles.

Android AppiOS App
Scroll to Top