बन्दुक बिसाएर ब्यङ्ग्यबाण तिखार्दै सेनाका पुर्व जर्नेल !

बन्दुक बिसाएर ब्यङ्ग्यबाण तिखार्दै सेनाका पुर्व जर्नेल !

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

-शुभाष चन्द्र पोख्रेल 

हास्यब्यङ्ग्यका लागि बहाना र परिघटना खोज्ने हो भने नेपाली समाज अझ पनि उर्बर छ ! उर्बर यो अर्थमा कि ब्यङ्ग्य बर्षाउनुपर्ने अनगिन्ती बेथिति अझ पनि ज्युँ का त्यु छन ! सामाजिक/राजनीतिक परिवेशमा बिकृती र बिसंगती ब्याप्त भइरहदा यस्ता बिकृतिलाइ प्रहार गर्न हास्यब्यङ्ग्य संग्रहकै रूपमा सृजनात्मक क्षेप्यास्त्र भने आजभोलि निकै कम नै प्रकाशित हुँदै छन !

हुन त हास्यब्यङ्ग्य आफैमा कुनै स्वतन्त्र बिधा नभै कला साहित्यको जुन सुकै बिधामा घुसाउन सकिने सर्बब्यापी अंग हो ! हास्यब्यङ्ग्य तरकारीमा आलु जस्तै हो , माटोमा एक्लै फले पनि पकवान बनाउदा चाहिँ जुन सुकै परिकारमा मिल्न सक्ने ! फल्न पनि समुन्द्र सतह देखि हिमाल सम्म जहाँ तहि फल्ने ! हो त्यस्तै आलु झै सरल तर व्यापक गुणग्राही शैली हो हास्यब्यङ्ग्य ! त्यसैले त आजभोलि सामाजिक सञ्जाल , पत्रपत्रिका , टेलिभिजन , फिल्म लगायतका माध्यमबाट हास्यब्यङ्ग्यका फुटकर खुराक बर्षिरहेकै छ्न ! हास्यब्यङ्ग्यको रसस्वादन गर्न अनेक सजिलो माध्यम उम्रीएका कारणले गर्दा पनि होला आजभोलि पुस्तकारमा ब्यङ्ग्य संग्रह निस्कन पातलो भएको !

ब्यङ्ग्य संग्रह निकाल्ने होड निम्छरो बन्दैगरेको पछिल्लो समयलाई केही ढाडस दिन आइपुगेका छन बलदेवराज महत ! अबकास प्राप्त तीन तारे जर्नेल महतले आफ्नो सक्रिय जीवनको झण्डै चालीस बर्ष नेपाली सेनामा बिताए ! सेनासँग जोडिएको उनको यो व्यावसायिक पाटोसँगै साहित्य लेखनको सशक्त दोश्रो परिचय पनि छ ! सर्जक महतको लेखनमा रोजाइ क्षेत्र मूलत कथा र निबन्ध हो ! बि.स. २०६६ सालमा ´अपुरो माया` र ´तिर्सना` नामक कथासंग्रह एकसाथ प्रकाशनमा ल्याएका महतको पछिल्लो कृति ´फाइदै फाइदा` हास्यब्यङ्ग्य निबन्ध संग्रहका रूपमा बजारमा आएको छ ! 

यो ब्यङ्ग्य संग्रह २०७४ सालमा प्रकाशित भए पनि यसमा समाहित सबै निबन्धहरू २०४९ देखि २०६५ साल भित्र लेखिएका हुन ! यो समय भनेको नेपालको सन्दर्भमा राजनीतिक हिसाबले सबैभन्दा पेचिलो र संक्रमित समय हो , त्यसैले पनि होला संग्रहमा उनिएका अधिकांस निबन्धले मनोसामाजिक बिकृतिलाई भन्दा ज्यादा राजनीतिक बेथितिलाइ ब्यङ्ग्य बाण हानेका छन ! समाजलाई सुकिलो र सङ्लो बनाउने दायित्व राजनीतिको हो , तर बिडम्बना , नेपालमा सबैभन्दा धमिलो केही छ भने त्यो राजनीति नै छ , अनि त ब्यङ्ग्य बाण खानबाट कसरी जोगिन सक्छ राजनीति ?

ब्यङ्ग्य संग्रहको पहिलो निबन्ध ´कल्पिए नारदजी`मा लेखकले देवदूत नारदलाई पृथ्वीमा आगमन गराएका छन ! खासमा नारदजीको ध्यय मर्त्यलोकमा भएका मध्य सबैभन्दा सस्तो र सुखी ठाउँबारे बह्र्माजीलाई सिफारिस गर्नु थियो , जो बह्र्माजीकै आदेश अनुसार यता ओर्लिका थिए ! संयोगले नारदजी मर्त्यलोकमा नेपाल नामको देशमा आइ टोपल्छन ! नारदजीले नेपालको बास्तबिकता बुझ्ने हेतु नमुना संकलनार्थ एक जना सरकारी जागिरेको चियो सुरू गर्दछन ! सुद्द सरकारी जागिरे एकजना हाकिमको दैनिकी , जीवनशैली, रवाफ र आलिसान मोजमस्तिको फेहरिस्त देख्दा नारदजीलाइ लाग्छ नेपाल त बडो अचम्मको भूखण्ड रहेछ ! जागिर गर्नेले त यति सब थोक भोग्न पाउछ भने अझ ठूलो र फराकिलो भूमिका भएका नेता,मन्त्री हरूको झन कस्तो सान सौखत र सुबिधा होला ?

नेपाल भन्ने देश त गजब मात्र होइन अचम्मकै रहेछ ! नारदजी यस्तै कुरामा कल्पिन्छन ! नारदजी लाई मर्त्यलोकमा पदार्पण गराइ स्वैरकल्पनाको फेरो समातेर ब्यङ्ग्यकारले हाम्रो भ्रष्ट कर्मचारीतन्त्र, मै खाउँ, मै लाउँ भन्ने स्वार्थी चरित्र अनि पद , पैसा र पहुचको मात्र पछि लाग्ने अनि त्यसैको मात्र जयजयकार गर्ने हाम्रो सामाजिक मनोवृत्ति माथी कसिलो प्रहार गरेका छन ! ´एउटा हाकिमले आफ्नो शुद्ध तलबमा आलिसान दैनिकी भोग्न पाउछ भने मर्त्यलोकमा नेपाल जत्तिको सस्तो ठाउँ अरु हुनै सक्दैन` ! यो निचोड नारदजीको हो , यसैबाट अन्दाज गर्न सकिन्छ निबन्धले दिन खोजेको ब्यञ्जना अर्थ !

संग्रहको दोश्रो निबन्ध ´बिद्यादान`मा लेखक महतले शिक्षाको ब्यापारीकरण लाई झटारो हानेका छन ! समाजमा सदाचार , सद्बुद्दिको जग भनेकै शिक्षा हो र शिक्षा आर्जनको थलो भनेकै बिद्यालय हो , तर यहाँ जे मा पनि शुभ-लाभको अपेक्षा र कमजोर नियमका कारण बिद्यालय समेत व्यापार अड्डा बन्न पुगेको तितो यथार्थलाई ब्यङ्ग्य बाण मार्फत उदाङ्गो पारेका छन ! 

´छोरीको बिहे` शिर्षकको रचना मार्फत बिहे सम्बन्धी सामाजिक जटिलता र उल्झनलाइ उधिनेका छन ! बिबाह सम्बन्धि हाम्रो सामाजिक मनोबिज्ञान केटा पक्ष अलि बढी नै हाबी हुने खालको छ , त्यही यथार्थलाई ब्यङ्ग्य मार्फत घोचपेच गर्ने लेखकको चेष्टा छ ! निबन्धको उत्कर्ष एवम अन्त्यमा बेहुली अर्थात बिहे गरिदिन आटेकी छोरी आफ्नै अफिसकै पियन केटासँग पोइल जान्छे ! त्यसैले यो निबन्धको अभिप्राय भनेको छोराछोरीको उमेर अनुसार स्वभाव र आचरणको पनि भाषा पढ्न सक्नु पर्छ , परिवार भित्र खुलेर अन्तरसंवाद हुनु पर्छ भन्ने पनि हो ! यो निबन्धले सुक्ष्म सामाजिक बिषयमा ब्यङ्ग्य पुट भर्न खोज्दा खोज्दै पनि निबन्ध अनावश्यक लामो हुँदा अपेक्षाकृत मर्मभेदी बन्न सकेको छैन ! नराखे पनि हुने झण्डै चालीस प्रतिशत शब्दले ´छोरीको बिहे` शिर्षकको निबन्धलाई छरितो र चटनी जस्तो तिख्खर हुन बाट रोकेका छन !

संग्रहको शीर्षक समेत रहेको ´फाइदै फाइदा` नामको अर्को निबन्धले निम्न आय हुने ´कामकाजीहरूको` पीडालाई रोचक तरिकाले प्रस्तुत गरेको छ ! थोरै तलब थाप्नु भनेको कम पैसा गन्नु हो, कम पैसा गन्नु भनेको पैसाका माध्यमबाट मात्र सम्भब हुने काम कम गर्नु हो , कम काम गर्नु , कम खर्च गर्नु भनेको तनाब पनि कम बेहोर्नु हो ! अनि भएन त फाइदा ? ´बिनोदी बिरोधाभाषको` शैलिमा निम्न आयको कस्टलाइ फाइदाका रूपमा परिभाषित गर्नुले निबन्धलाइ चोटिलो बनाएको छ ! 

´फाइदै फाइदा` संग्रहमा समेटिएका अरू निबन्धहरू बिदेश यात्रा, कान्छी, के गरूँ?, धर्मकर्म, रहर , चुनाव जितियो, लठ्ठी , चम्चा, बन्दको फाइदा हुन ! 

सामाजिक प्रतिष्ठाका नाममा खोक्रो आडम्बरी, राजनीति गर्ने नाममा धोखाधडी र नातावाद कृपावाद, जागिरका नाममा भ्रष्टाचार, अधिकारका नाममा अराजकता , उद्देश्य प्राप्तिका नाममा उग्रता ! यी सबै कुराहरू हामी नेपाली जनले नचाहदा नचाहदै पनि भोग्नु परेका र भोगिरहेका अभिसप्त ´बिमारी` हुन ! देश र समाजका यस्ता यावत बिमार प्रती लेखकले ब्यङ्ग्यको चाबुक चलाएका छ्न ! पक्कै पनि यो सराहनीय पाटो हो ! तर लेखकले कतिपय कमजोरीलाई आफ्नो लेखनमा सँगै डोहोर्याउदा हास्यब्यङ्ग्यमा अति जरूरी ठानिने पाठकिय ´ग्रीप` अलि खुकुलो बन्न पुगेको छ ! यसको मूल कारण व्यावसायिक जीवनमा लेखक महतका दुईवटा परिचय हुनु पनि होला ! बृती बिकासका लागि महतले फौजी पेशा रोजे अनि रूचि क्षेत्र जो उनको लेखन हो !

यी दुई फरक भूमिकाको तादाम्यता मिलाउन खोज्दा ब्यङ्ग्य लेखको घनत्व अलि कमजोर बनेको हो कि ? जस्तो : संग्रहमा समेटिएका तेह्रवटै निबन्ध बि.स. २०४९ देखि २०६५ को बिचमा लेखिएका छन ! यो समय भनेको महतका लागि फौजी क्यारियरको मध्य र उत्कर्षको समय हो ! `चेन अफ कमान्ड`को स्कुलिङ पालना गर्नु पर्ने बलदेव राज महतले सोही नामबाट देशमा विद्यमान बेथितिमाथी ब्यङ्ग्य बाण सोझ्याउदा आफ्नो फौजी पाटोमा ´ अनुसाशनको` प्रश्न उठन सक्ने डर बाट बच्न खोजेका हुन सक्छन ! त्यसैले उनले कुनै पनि बिषयलाइ बिशिस्टिकरण गरेर सम्बन्धित खराब पात्र / ब्यक्ती वा संस्थालाइ सोझै ब्यङ्ग्य ठोकेका छैनन् ! बिषयलाइ सामान्यिकरण गरेर बिसङ्गती प्रती सोलोडोलो प्रहार गरेका छन ! यद्यपि ब्यङ्ग्य गर्न हर कुनै क्षेत्रलाई बाँकी राखेका भने छैनन !

हास्यब्यङ्ग्य निबन्ध लेखनमा भैरब अर्यालको शैलीलाई निकै छरितो र सुसज्जित मानिन्छ ! अर्यालका निबन्ध पढ्दा महसुस हुने लयात्मकता, प्रयुक्त तुकबन्दी अनि अलङ्कार अनुप्रासको बेजोड प्रयोगले हास्यब्यङ्ग्य निबन्ध लेखनमा विशिष्ट मानक बनाएको छ ! स्रस्टा महतले पनि आफ्ना रचनाहरूमा तुकबन्दी अनि अलङ्कार र अनुप्रासको प्रयोगमा कुनै कन्जुस्याइँ गरेका छैन ! तुकबन्दी मिलाउने ध्याउन्नमा बडि रुमल्लिदा निबन्धमा बिषय मर्मता धिमा भएको हेक्का राख्न नसक्नु लाई महतको कमजोरिका रूपमा औल्याउँन सकिन्छ ! ´रचनामा तुकबन्दीको आधिक्यता हुदा शब्दाडम्बर बढ्छ र भाव पातलो भई त्यसको गाम्भीर्यता घट्छ ` यो निचोड समालोचक मोहनराज शर्माको हो ! शर्माले आफ्नो भुमिका लेखन मार्फत ´फाइदै फाइदा`मा तुकबन्दीका नाममा अलि शब्दाडम्बर भयो कि भनी लेखक महत तर्फ अप्रत्यक्ष संकेत गरेका छन ! 

सिर्जनाको जग भनेको समाज हो ! समाजले हिजो जे भोग्यो वा आज जे भोग्दै छ त्यसको प्रतिबिम्ब सृजनामा पोखिनु पर्छ ! अझ हास्यब्यङ्ग्य बिधा त सामाजिक परिघटनासँग झन बडि सापेक्ष भै जोडिएको हुन्छ ! हामिले भोगेका याबत बिकृती बिसंगती हाम्रै समाजका सह-उत्पादन हुन ! त्यसैले हामिले कहिले सम्म बिकृती बिसंगती भोगिरहने भन्ने प्रश्न गर्नु अगाडि हामिले कस्तो समाज निर्माणको हिस्सेदारी लिइरहेका छौ त्यसको उत्तर खोज्ने प्रयास गर्यौ भने बल्ल हाम्रो समाज सङ्लो बन्न थाल्ने छ ! राजनीति वा समाज र संस्कृतिलाइ सफा बनाउनकालागि हास्यब्यङ्ग्यको चाबुक निरन्तर चल्नु पर्छ ! तसर्थ ´हास्यब्यङ्ग्यको` शिल्पी बन्न लाई समाजको समसामयिक नाडी ठम्याउन सक्नु पर्छ ,अन्यथा हास्यब्यङ्ग्य एकलाप र भडास निकाल्ने माध्यममा परिणत हुन्छ ! समाज गतिशील छ र समाजको चाल अनुसार सृजनाको धार बग्न सक्यो भने मात्र कला साहित्यले ´समकालीन` पहिचान कायम राख्न सक्छ !

हास्यब्यङ्ग्य को कुरा गर्दा हिजो शक्तिबल्भ अर्यालले लेखेको ´हास्यकदम्ब` को केही ´चरित्र` आज पनि सान्दर्भिक हुन सक्छ ! भानुभक्त आचार्यको काब्यमा घुसेका ब्यङ्ग्य चेत , अनि लक्ष्मी प्रसाद देबकोटाका `प्रभु मलाइ भेडो बनाउ` होस अथवा ´पागल`कबिताको ब्यङ्ग्य बिद्रोह, भिमनिधि तिवारिका कबितामा पाइने ब्यङ्ग्य मर्म, केशबराज पिंडालिको ´खै- खै` ले बोकेको हास्यब्यङ्ग्य अनि भैरब अर्यालको `जय भुँडी` !

यी केही प्रतिनिधि नाम मात्र हुन जस्ले जिवन्त ´हास्यब्यङ्ग्य` लेखे ! लेखन चच्छु तीखो भएका स्रस्टाले सानो फिलिङ्गो सल्काएर हास्यब्यङ्ग्यको ज्वाला दन्काउन सक्छन ! तर पछिल्लो समय समाज प्रबिधिको परिबन्दमा जेलिएको छ ! फुर्सदले पढिने सामाग्री को भन्दा हतार हतार ´हेरिने , सुनिने` लतको दबदबा छ ! सामाजिक सञ्जालले मोटा मसिना सबै बिषयलाइ क्षणभरमै घोलघाल बनाइहाल्छ ! यस्ता चुनौती चिरेर मुलधारको लेखन धानी राख्नु चुनौतीपुर्ण बन्दै छ ! 

झण्डै चार दशकको सैन्य पेशाबाट निबृत्त भइ ´बन्दुकसँग औपचारिक पारपाचुके` गरेका बलदेवराज महतका लागि अब को ´रिटायर्ड` जीवन परिस्कृत लेखक बन्नकालागी पक्कै पनि उपयोगी बन्न सक्छ ! 

´फाइदै फाइदा` को प्रसंग कोट्याएर बिट मारौ ! हास्यब्यङ्ग्यका निबन्ध संग्रह निस्कन खडेरी पर्न थालेको अबस्थामा महतको ´फाइदै फाइदा` सराहनीय कृति हो तर कृति पाठक समक्ष पस्किनु अघि सम्पादन , शब्द सश्लेषण र पुनर्लेखनमा अल्छी गर्नाले निबन्धहरूको गति अलि धिमा बनेको छ ! आशा गरौ महतले अब जन्माउने हास्यब्यङ्ग्य सिर्जनामा अझ निखारता आउने छ ! 

फाइदै फाइदा 

लेखक : बलदेवराज महत 

बिधा : हास्यब्यङ्ग्य

प्रकाशक : सत्याल प्रकाशन 

मूल्य : रू २००