खुला सीमाको फाइदा उठाउदै आपराधिक मनोवृत्ति भएका व्यक्तिहरू नेपाल छिर्न सक्छन् :सेना


काठमाडौं – सेनाले प्रतिनिधि र प्रदेशसभाको आसन्न निर्वाचनमा दुई नम्बर प्रदेशका आठ जिल्लाको सुरक्षा अवस्था थप बलियो बनाउनुपर्ने निष्कर्ष निकालेको छ । अन्य प्रदेशको तुलनामा सुरक्षा चुनौती बढी भएको ठहर गर्दै जंगी अड्डाले दुई नम्बर प्रदेशमा बढी सतर्कता अपनाउनुपर्ने निष्कर्ष निकालेको सैनिक स्रोतले जनाएको छ ।

 

 

 

 

प्रदेश २ का बारा, धनुषा, महोत्तरी, पर्सा, रौतहट, सप्तरी, सर्लाही र सिरहामा जयकृष्ण गोइतलगायत भूमिगत समूहको गतिविधि कायमै रहेको र तिनले निर्वाचनविरोधी गतिविधि गर्नसक्नेतर्फ सेनाको ध्यानाकृष्ट भएको हो ।

 

 

 

 

 सैनिक प्रवक्ता नैनराज दाहालले भने निर्वाचनका लागि कुनै सुरक्षा चुनौती नरहेको बताए । ‘सबैको रिपोर्टिङ सकारात्मक आएको छ । निर्वाचनका लागि कुनै सुरक्षा चुनौती छैन,’ दाहालले भने, ‘जस्तोसुकै चुनौती आए पनि सामाना गर्न सेना तयार छ ।’ उनले विगतमा देखिएका निर्वाचनविरोधी केही समूह अहिले पनि सक्रिय भएकाले त्यहीअनुसार सुरक्षा योजना कार्यान्वयन गरेको बताए ।

 

 

गोइत समूह बेला-बेला पर्चा, पम्प्लेट टँस्दै, आफनो अस्तित्व काम राख्न भित्रीरूपमा सक्रिय रहेको हुनसक्ने भन्दै जंगी अड्डाले दुई नम्बर प्रदेशका आठ जिल्लाको सुरक्षामा विशेष ध्यान दिनुपर्नेमा जोड दिएको हो । चुरे क्षेत्रसँग जोडिएका निर्वाचन क्षेत्रमा भने कुनै सुरक्षा चुनौती छैन ।

 

 

सैनिक मुख्यालयमा बिहीबार भएको पृतनापतिहरूको बैठकमा पनि तराईका भूमिगत समूह, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, सीके राउतलगायत सम्भावित चुनावविरोधी गतिविधि गर्ने समूहबारे छलफल भएको स्रोतले जनाएको छ । बैठकमा सबै पृतनापतिले आ-आफ्नो क्षेत्रको सुरक्षा अवस्थाबारे रिपोर्टिङ गरेका थिए ।

 

 

बैठकमा सहभागी उच्च सैनिक अधिकारीले नेपाल(भारत खुला सीमाको फाइदा उठाउदै आपराधिक मनोवृत्ति भएका व्यक्तिहरू नेपाल छिर्नसक्ने र तिनीहरूले आपराधिक घटना गराउन सक्नेतर्फ समेत सुरक्षाकर्मी सजग हुनु पर्ने धारणा राखेको स्रोतले बताएको छ । जंगी अड्डाले दुई नम्बरबाहेकका अन्य प्रदेशको सुरक्षा अवस्था मजबुत भएको रिपोर्टिङ गरेको स्रोतले जनाएको छ ।

 

 

बैठकमा सम्बोधन गर्दै रक्षामन्त्री भीमसेनदास प्रधानले आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सुरक्षित र भयरहित वातावरणमा सम्पन्न गर्न सेना सफल रहने बताए । प्रधानसेनापति राजेन्द्र क्षत्रीले मंसिर १० र २१ गते हुने निर्वाचनको सुरक्षामा कुनै कसर नराख्ने प्रतिबद्धता जनाएका थिए । आजको अन्नपुर्णमा समाचार छ । 

प्रतिक्रिया दिनुहोस
Advertisement