एजेन्सी – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आसन्न आम निर्वाचनका लागि भारतीय राज्य उत्तर प्रदेशको बनारसबाट उम्मेदवारी दर्ता गराएका छन् । उनले गत शुक्रबार बनारसको एक निर्वाचन क्षेत्रबाट उम्मेदवारी दर्ता गराएका हुन् । उनले सो निर्वाचन क्षेत्रबाट यसअघिको सन् २०१४ को आम निर्वाचनमा भारी मतका साथ निर्वाचित भएका थिए।
बनारसबाट उम्मेदवारी दिएका नरेन्द्र मोदीले देशव्यापी निर्वाचन अभियानका क्रममा राष्ट्रवाद, देशभक्ति र सेनाको प्रशंसा गर्दै हिँडेका छन्। आफूले सेनालाई बलियो बनाएको र स्वतन्त्र राखेकाले सेना ’सर्जिकल स्ट्राइक’ र हवाई आक्रमणमा सफल भएको दाबी मोदीले सबै क्षेत्रमा दोर्हयाइरहेका बेला बनारसमा एक पूर्व सैनिकले प्रधानमन्त्री मोदीलाई अहिले चुनौति दिएका छन् ।
आज भन्दा ठिक २ वर्ष अगाडि सुरक्षा बल (बीएसएफ) का जवान तेजबहादुरको एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो। त्यसमा उनले फौजका जवानलाई दिइने खानाको गुणस्तरबारे उनले प्रश्न उठाएका थिए । उक्त भिडियोले सैनिक र राजनीतिक क्षेत्रमा हलचल ल्याएको थियो । सेनाले त्यसबारे छानबिनको आदेश दियो। पछि उनी पदमुक्त भए।
उनी भन्छन् जसले सेनामाथि राजनीति गर्छन्। उनले हाम्रो सेनाको नाम बदनाम गरे, जसले गर्दा जवानको आत्मविश्वास कमजोर भएको छ।“ उरी आक्रमणपछि सेनाको तर्फबाट गरिएको ’सर्जिकल स्ट्राइक’ र यस वर्ष जम्मू कश्मिरको पुलवामामा भएको आक्रमणपछि वायुसेनाले पाकिस्तानतर्फ गरेको आक्रमणको श्रेय भारतीय जनता पार्टीका नेता र कार्यकर्ताले प्रधानमन्त्री नरेन्द्र मोदीलाई दिन्छन्।कतिपय सन्दर्भमा प्रधानमन्त्री मोदी विगतका सरकारले सेनालाई छुट नदिएका कारण देशभित्र आक्रमण भएको आरोप लगाउँछन्।
त्यसबारे तेजबहादुर यादव भन्छन्, “त्यस्तो होइन। सेनाले यसअघि पनि आक्रमण गर्थ्यो। तर त्यसलाई लिएर राजनीति हुँदैनथ्यो। वर्तमान सरकारले सेनाको कामलाई लिएर राजनीति गरिरहेकाले त्यसको उत्तर दिन म निर्वाचनमा उठेको हुँ।“ उनको भनाइ छ, “आजसम्म हामीले सिमानाको रक्षा र्गयौँ। तर जबसम्म देशको जवान संसद्मा पुग्दैन तबसम्म यो देशको सुरक्षा सुनिश्चित हुँदैन।“
तेजबहादुर यादवले आफ्नो चुनावी प्रचारमा वितरण गरिरहेको पोस्टरमा आफू देशको असली चौकीदार भएको उल्लेख गरेका छन्। असली र नक्कली चौकीदारबारे उनी भन्छन्, “यति वर्षसम्म सीमाको चौकीदारी हामीले गर्यौँ भने देशको असली चौकीदार पनि त हामी हौँ।” उनको प्रश्न छ, “यदि मोदीले आफूलाई चौकीदार मान्छन् भने रफाल विमान खरिद प्रकरणको फाइल कसरी चोरी भयो। नीरव मोदी र अन्य व्यक्तिहरू देशबाट भागे भने उनी केका चौकीदार भए?”
सात चरणमा मतदान सम्पन्न हुनेगरी भारतमा एप्रिल ११ मा मतदान सुरु भएको हो। उक्त निर्वाचन क्षेत्रमा आगामी मे १९ मा मतदान हुन गइरहेको छ। आगामी चरण निर्वाचनको अन्तिम तथा सातौँ चरण हो। उक्त चरणको निर्वाचन आगामी मेको ११, १८ र १९ तारिखमा हुने कार्यक्रम छ। सो अन्तिम चरणको निर्वाचन सम्पन्न भएको चार दिनपछि अर्थात् मे २३ मा निर्वाचन परिणाम घोषणा गर्ने कार्यक्रम रहेको बताइएको छ ।
प्रतिक्रिया