हिम पहिरो जाँदा चार जना भारतीय सैनिक र दुई भरियाको मृत्यु


श्रीनगर -भारत प्रशासित कश्मीरमा रहेको सियाचिन ग्लेसियरमा हिम पहिरो जाँदा चार जना भारतीय सैनिक र दुई जना भरियाको मृत्यु भएको छ ।

भारतीय सेनाको आठजना रहेको टोलीले हिमशृङ्खलाको करिब १९,००० फिट (५,८०० मिटर) को उचाईमा गस्ती गर्दै गरेको अवस्था हिमपहिरोमा परेका हुन् ।

पहिरोमा परेकाहरूको खोजी गर्न सेनाले ठूलो अभियान चलाइको थियो । पहिरोमा हराएकाहरुलाई उद्दार गरी हेलिकोप्टरमार्फत नजिकको अस्पताल पुर्‍याइएको थियो।

अस्पताल पु¥याइएपछि अत्यधिक चिसोले कठ्यांग्रिएका कारण उनीहरुको मृत्यु भएको हो ।

सियाचिन क्षेत्रमा भारत र पाकिस्तान दुबैका सेनाले गस्ती गर्ने गर्छन् । उक्त क्षेत्रको सार्वभौमिकतालाई लिएर भारत र पाकिस्तानबीच विवाद रहँदै आएको छ ।

संसारकै उच्च क्षेत्रमा रहेको युद्ध क्षेत्रका रुपमा चिनिने सियाचिन ग्लेसियरका विषयमा पटक पटक वार्ता भएपछि सेनाको उपस्थिति हटाउन दुई देश असफल भएका छन् ।

सन् १९८४ मा भारतले ग्लेशियरमाथि नियन्त्रण कायम गरेको थियो । सो समयदेखि लडाइँबाट भन्दा हिमपहिरोमा परेर बढी सैनिकको मृत्यु भएको छ ।

सन् २०१६ को फेब्रुअरीमा सोही क्षेत्रमा सैन्य आधार शिविरमा हिमपहिरो जाँदा १० जना भारतीय सैनिकको मृत्यु भएको थियो । त्यहाँको तापक्रम माइनस ६० डिग्री सेल्सियससम्म झर्दछ। एजेन्सी

प्रतिक्रिया दिनुहोस
Advertisement