नलगाड जलविद्युतमा वनमन्त्रीको पहल : यसै वर्ष मुआब्जा वितरण गरिसक्ने गरी बजेट


काठमाडौँ-४१० मेगावाट क्षमताको जाजरकोटस्थित नलगाड जलविद्युत् आयोजना निर्माणस्थलका स्थानीयले आर्थिक वर्ष ०७६-०७७ भित्र मुआब्जा पाउने भएका छन्।

बारेकोट गाउँपालिकाको अँधेरीखोलामा बाँध निर्माण र नलगाड नगरपालिका–७ दल्लीमा भूमिगत विद्युतगृह निर्माण हुने यस आयोजनाको मुआब्जा किस्ताकिस्तामा वितरण हुँदै आएको थियो ।

तर, वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतको विशेष पहलमा सरकारले यसै वर्षभित्र मुआब्जा वितरण सक्ने गरी बजेट विनियोजन गरेको हो । ६ हजार रोपनीको मुआब्जा वितरणका लागि २ अर्ब ७२ करोड रकम विनियोजन भएको मन्त्री बस्नेतले जानकारी दिए। ४ वर्षअघिदेखि मुआब्जा वितरण थालिएकोमा हालसम्म २ सय ५० रोपनीको मात्र मुआब्जा वितरण भएको छ । सरकारले यसअघि प्रतिरोपनीको ४ लाख ७५ हजारका दरले मुआब्जा दिएको थियो ।

यो वर्षको मुआब्जाको भने मुल्यांकन भइसकेको छैन । जिल्ला प्रशासन कार्यालयले सरोकारवालाको बैठक बोलाई नयाँ दरभाउ तोकेर मापदण्ड बनाई मुआब्जा वितरणको काम हुनेछ ।

नलगाड जलविद्युत् कम्पनीका इञ्जिनीयर पदम थापाका अनुसार आयोजनाको विस्तृत योजना प्रतिवेदन (डिपिआर) ४ महिनाभित्र बनाइसक्ने गरी काम भइरहेको छ । डिपिआर बनाउने जिम्मा स्मेक, एमडब्लुएच कन्सलटेन्टले लिएको छ ।

सरकारले अबको १० वर्षभित्र सातवटै प्रदेशमा १२ ठूला आयोजना सम्पन्न गर्ने लक्ष्य लिएर कर्णाली प्रदेशमा ४ सय १० मेगावाटको नलगाड जलाशययुक्त आयोजना अघि बढाउने योजना अगाडि सारेको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement