प्रचण्ड सरकारले जनतामा निराशा बढायो, अब मुलुकलाई आशातर्फ लैजानुपर्छ : महासचिव पोखरेल

प्रचण्ड सरकारले जनतामा निराशा बढायो, अब मुलुकलाई आशातर्फ लैजानुपर्छ : महासचिव पोखरेल


काठमाण्डु – नेकपा एमालेका महासचिव शंकर पोखरेलले देशको अहिलेको राजनीतिक अवस्था थप निराशाजनक भएको बताएका छन् ।

नेकपा एमालेको केन्द्रीय प्रचार तथा प्रकाशन विभागले तयार पारेको सञ्चार नीतिको मस्यौदा बुझ्दै पोखरेलले भने, ‘एमाले सरकारबाट बाहिरिएपछि राष्ट्रिय राजनीतिमा जुन प्रकारका प्रभाव छन् त्यो, निराशा पैदा गर्ने खालकै छ ।’

त्यो अवस्थाबाट मुलुकलाई आशातर्फ लैजान आवश्यक रहेको उनले बताए । ४ महिना पहिला एउटा तरिकाबाट जान सकिन्छ कि भनेर पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई साथ दिएको भए पनि सफल हुन नसकिएको पोखरेलले बताए । ‘प्रचण्डको निराशा चिर्ने कुरामा खास रुचि देखिएन,’ उनले भने ।

जनतामा निराशा, अर्थतन्त्रमा संकट, समाजमा एक प्रकारको अराजकता पैदा भएको बेला त्यसलाई कसरी चिर्ने भन्ने कुरामा प्रचण्डमा कुनै चिन्ता नदेखिएको उनले बताए । यद्यपि उनलाई सफल बनाउन एमालेले हदैसम्मको प्रयास गरेको उनले बताए ।

एमालेले प्रचण्डले छाडेका मन्त्रालय लिएर समेत उनलाई सहयोग गरेको पोखरेलले प्रस्ट पारे । ‘एउटा प्रधानमन्त्रीलाई काम गर्नका लागि चाहिने चिज गर्नुस् भनेर नै गरियो,’ उनले भने ।

आलोपालो सरकारको कुरा भएको भए पनि यो सरकारले राम्रोसँग काम गर्छ भने पूरै अवधि गर्दा पनि हुन्छ भनेको उनले स्मरण गराए । ‘निराशा चिर्नेतर्फ, परिणाम देखाउनेतर्फ उनले प्रयास गरेको देखिएन, सत्तामा रहने कुरामा रुचि ज्यादा देखियो, काममा रुचि देखिएन,’ उनले भने ।

सामान्यतया परिस्थितिलाई बदल्ने भनेको सरकारको नीति, कार्यक्रम र बजेटले नै भएको पोखरेलले बताए । नीति, कार्यक्रम र बजेट बनाउँदा प्रचण्डले एमालेसँग कुनै परामर्श नै नगरेको उनले जानकारी दिए । एमालेले त्यस विषयमा कुरा गर्दा पनि उनले कुनै गाम्भीर्यता नदेखाएको पोखरेलले बताए ।

नीति, कार्यक्रम ल्याउँदा नै एमाले कुरा उठाएपछि बजेट ल्याउँदा छलफल गर्नुपर्नेमा अझ बजेट ल्याउँदा मन्त्रीहरू नै सर्वेसर्वा भए जस्तो गरी काम गरेको उनले टिप्पणी गरे । मन्त्रीहरूले लामो समय हामी रहन्छौं रहँदैनौं, रहेको बेला आफ्ना र आफ्नो क्षेत्रमा काम गर्ने जस्तो व्यवहार देखाएका उनले बताए । यसले नागरिकमा थप निराशा बढाउने काम गरेको उनको भनाइ छ ।

डा. महेन्द्र विष्टको संयोजकत्वमा गठित मस्यौदा समितिले ५ खण्डमा विभाजित प्रस्तावित सञ्चार नीति तयार गरेको छ । नीतिको पहिलो खण्डमा पृष्ठभूमि अन्तर्गत नेकपा एमालेको प्रतिबद्धता, पार्टी दस्तावेजमा सञ्चार अवधारणा, चुनावी घोषणा पत्रमा सञ्चारको समीक्षा, राज्यको सञ्चार नीतिको समीक्षा, नेकपा एमालेका सबल पक्ष तथा चुनौती र नीतिको औचित्य र सान्दर्भिकता समेटिएको छ ।

दोस्रो खण्डमा मार्गदर्शक सिद्धान्त, दीर्घकालीन सोच, लक्ष्य र उद्देश्यहरू अन्तर्गत नीतिको मार्गदर्शक सिद्धान्त, नीतिको दीर्घकालीन सोच, नीतिको उद्देश्य र नीतिको क्षेत्र समेटिएको छ ।

तेस्रो खण्डमा सञ्चार नीतिको लक्ष्य, सम्बन्धी समग्र नीति अन्तर्गत पार्टीको सञ्चार नीति र राज्य सञ्चालनका सन्दर्भमा एमालेको सञ्चार नीति समेटिएको छ ।

चौथो खण्डमा पार्टी कार्यको प्रचारप्रसार अन्तर्गत विषयवस्तुको छनोट, प्रचारप्रसारका माध्यम र प्रचार सामग्रीको उत्पादन, आमसञ्चार र पार्टीका प्रकाशन प्रसारण एवं पाँचौं खण्डमा नीति कार्यान्वयन त पुनरावलोकन सम्बन्धी विषयहरू समेटिएको छ । सो नीतिको कार्यान्वयनबाट नीतिको उद्देश्य हासिल हुने विश्वास मस्यौदा समितिले लिएको छ ।