संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा कार्यरत सैनिकको भत्ता बढ्यो


काठमाडौँ — नेपाली सेनाले संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा कार्यरत सैनिकको भत्ता बढाएको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाको अध्यक्षतामा मंगलबार बसेको सैनिक कल्याणकारी कोष सञ्चालन तथा व्यवस्थापन समिति बैठकले सैनिकको मासिक पारिश्रमिक भत्ता ९ देखि ८५ अमेरिकी डलरसम्म बढाएको छ । तल्लो तहका सैनिकको अधिकतम ८५ बढ्दा अधिकृत तहका शान्ति सैनिकको न्यनूतम ९ डलरसम्म बढेको छ ।

शान्ति मिसनमा सहभागी फौजका सबै दर्जाको मासिक भत्तामा समान २२ प्रतिशत रकम सैनिक कल्याणकारी कोषमा कट्टा हुने गरी भत्ता वृद्धि भएको हो । भत्ता वृद्धिले कोषलाई वार्षिक ४६ करोड ३० लाखभन्दा बढी रकम व्ययभार थपिनेछ । पल्टनसहित मिलिट्री एडभाइजर, स्टाफ अधिकृतलगायत नेपाली शान्ति सेनाबाट वार्षिक करिब ११ अर्ब रुपैयाँ बराबरको अमेरिकी डलर भित्रिने गरेको छ ।

शान्ति मिसनमा तैनाथ फौजको मासिक सेवासुविधा सेनाले राष्ट्रसंघबाट सैनिक कल्याणकारी कोषमार्फत जम्मा गर्दै आएको छ । पछिल्लो निर्णयले ‘फलोअर्स’ (परिचर) को मासिक भत्तामा ८५ डलर वृद्धि भएको छ । त्यस्तै पल्टनमा तैनाथ बटालियन कमान्डर (प्रमुख सेनानी) को २२ डलर भत्ता बढेको छ ।

राष्ट्रसंघले सन् २०१६ मा प्रतिशान्ति सैनिक १ हजार ४ सय २८ अमेरिकी डलर भत्ता उपलब्ध गराउँदै आएको छ । त्यसमध्ये पोसाक, हातहतियार र विशेष भत्ताबापत सैनिक कल्याणकारी कोषले प्रतिमहिना प्रत्येकबाट १ सय ३०.३५ डलर कट्टा गर्दै आएको छ । बाँकी १ हजार २ सय ९७.६५ डलरमा सैनिक कल्याणकारी कोषमा योगदानस्वरूप भन्दै प्रत्येकबाट २२ प्रतिशत कटौती हुने गरेको छ ।यो समाचार कान्तिपुर दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement