१५.७२ अंकले बढ्यो नेप्से


काठमाण्डु – सेयर बजार परिसूचक नेप्सेले आज पनि नयाँ रेकर्ड कायम गरेको छ ।

विगत ३ दिनयता नयाँ रेकर्ड बनाउँदै आएको नेप्से आज मंगलबार १५.७२ अंकले बढेर २६७४ अंकमा कायम भएको छ । यो हालसम्मकै उच्च हो । आज कुल २१३ कम्पनीको ७ अर्ब ४७ करोड रुपैयाँको सेयर किनबेच भएको छ ।

त्यस्तै बैंकिङ समूह १ अंकमुनि रातो रह्यो । ब्यापार ४३२, फाइनान्स ३, निर्जीवन बीमा २८७, अन्य ३ र जीवन बीमा समूह १९१ अंकले घटेका छन् । होटल तथा पर्यटन २०५, विकास बैंक २९, जलविद्युत ११४, उत्पादन १८३, माइक्रोफाइनान्स ६४ र लगानी समूह २ अंकले बढेका छन् ।

आज सबैभन्दा बढी कमाउनेमा जलविद्युत कम्पनीका लगानीकर्ता अगाडि रहेका छन् । ११ कम्पनीका लगानीकर्ताले १० प्रतिशतको हाराहारीमा मूल्य कमाएका छन् । चिलिमे हाइड्रोपावर, युनिभर्सल पावर, युनाइटेड इदिमर्दी हाइड्रोपावर र चन्द्रागिरि हिल्सको मूल्य १० प्रतिशतले बढेको छ ।

ओमी माइक्रोफाइनान्स, महिला लघुवित्त, एनआइसी एसिया लघुवित्त, सान्जेन जलविद्युत, शिवश्री हाइड्रोपावर, पन्चकन्या माइ हाइड्रोपावर र छ्याङ्दी हाइड्रोपावरको मूल्य साढे ९ प्रतिशतभन्दा धेरैले बढेको छ । त्यस्तै रसुवागढीको मूल्य ९.३ प्रतिशतले बढेको छ ।

आजको कारोबारपछि चिलिमेको मूल्य ६८२, युनिभर्सलको १६५, युनाइटेड इदीको ३३०, चन्द्रागिरिको २३४४, ओमीको १८२३, महिलाको ८४१, एनआइसी एसिया लघुवित्तको ११६२, सान्जेनको ४८९, शिवश्रीको २३५, पन्चकन्याको २०२ र छ्याङ्दीको मूल्य २२९ रुपैयाँ कायम भएको छ।

 यस दिन साल्ट ट्रेडिङका सेयर लगानीकर्ताले सबैभन्दा धेरै मूल्य १० प्रतिशत गुमाए। कम्पनीको मूल्य प्रतिकित्ता १३१० रुपैयाँले घटेको छ। त्यस्तै सानिमा जनरल इन्स्योरेन्सका र अजोडका लगानीकर्ताले ८.७ प्रतिशत मूल्य गुमाएका छन्।

प्रतिक्रिया दिनुहोस
Advertisement