शेयर बजार : ३३ अंकले बढ्यो नेप्से


काठमाण्डु – बिहीबार सेयर बजार मापक नेप्से परिसूचक ३३ दशमलव ३ अंकले वृद्धि भएको छ । मंगलबार र बुधबार लगातार घटेको नेप्से आज ३३.०३ अंकले बढेर २९ सय ३१.३४ विन्दुमा पुगेर बन्द भएको हो ।

आज २२९ कम्पनीको सेयर कारोबार हुँदा १ करोड ५९ लाख ८९ हजार कित्ता सेयर ५ अर्ब ७७ करोड ३१ लाख २० हजार रुपैयाँ बराबरमा किनबेच भयो । त्यसैगरी सेन्सेटिभ इण्डेक्स ४.०९ अंकले वृद्धि भएको छ । कारोबारमा आएका १३ समूहमध्ये ११ समूहको परिसूचक बढेको छ । विकास बैंक उपसमूहको परिसूचक सर्वाधिक ३.३६ प्रतिशत बढेको छ ।

त्यसैगरी, वित्त उपसमूहको परिसूचक ३.०४ प्रतिशत बढेको छ भने, जलविद्युत, लगानी, जीवन बीमा र निर्जीवन बीमा उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ । आज ११ समूहको परिसूचक बढ्दा बैंकिङ्गको ०.०५ र म्युचुअल फण्ड समूहको परिसूचक ०.१४ प्रतिशतले घटेको हो ।

कारोबार रकमका आधारमा आइएमइ जनरल इन्स्योरेन्स शीर्ष स्थानमा रह्यो । सो कम्पनीको २२ करोड २० लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भयो ।

बिहीबार तीन कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । मैलुङ्ग खोला जलविद्युत कम्पनी, तेह्रथुम पावर कम्पनी र बुद्धभूमि नेपाल हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लभेलमा कारोबार भएको हो ।

मैलुङ्ग खोला जलविद्युत कम्पनीको १० प्रतिशत, तेह्रथुम पावर कम्पनीको १० प्रतिशत र बुद्धभूमि नेपाल हाइड्रोपावरको ९.९७ प्रतिशतले बढेको हो । सैगरी, न्यादी हाइड्रोपावरको सेयरमूल्य करिब ८.८६ प्रतिशत बढेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement