साउन अर्थात् स्वच्छताको महिना


निर्मला न्यौपाने

१. सन्दर्भ – अविवाहित कन्याहरुले असल पति पाउन र विवाहिताहरुले पतिको दीर्घायूको कामना गर्ने महिना–साउन। देशैभरिका शिवालयहरुमा हरियो साडी र हरियो चुरामा सजिएर महिलाहरु भीड लाग्ने महिना–साउन।

पार्वतीले महिनाभरि निराहार रही कठोर व्रत बसेकी महिना –साउन। ‘वैशाख, जेठ, असार’ छोरी नेपाली–महिना घोक्छे। २०७५ सालका यी तीन महिना घचेटिए। असाध्यै हतारमा यी दिनहरु फुत्के।

रविन्द्र मिश्रले डा.उपेन्द्रको सम्झना गर्दै लेखे ‘मृत्युले पर्खन्नँ !’ यसैले फुर्सद निकालेर प्रकृतिमा रमाउने भन्छन् तर मलाई हतारले घाँटी समातेर घिसार्छ । ‘बोल बम’ मा मेरा कतिपय आदरणीय अग्रज र साथीहरु खाली खुट्टै बाटोमा सुत्दै–उठ्दै फुर्सदले हिँड्न भ्याउँछन्, बोलबम–बोलबम चिच्याउँछन् । आफूलाई सधैँको आत्तुरी र पात्तुरी।

‘राजस्थानको मिलवाडा गाउँमा महिलालाई जुत्ताको पानी खुवाइन्छ …।’ ‘राजा आँगने गोवाङ् आफ्ना ६० जना पत्नीका साथ सुखभोग गरिरहेका छन् …!’ म असारको अन्त्यको ‘अनलाइन खवर’ हतार–हतार पढ्छु। क्लासमा शान्ति मेडमको लेक्चर, ‘रुस्सोले ब्याक टू द नेचर भनेका छन्’ लाई हतारमै सुन्छु । हतारमै केही समय विस्मित बन्छु।

थोरै समय अगाडि साहित्यकार अनुपम रोशीले लेखेकी थिइन्, ‘७० वर्षका हजुरवाको गर्भधारण गरेकी १३ वर्षिया बालिकाको अनुहार कसरी हेर्न सकिन्छ ?’ म दिनदिनै राजा आँगने र मिलवाडाका पुरुषहरुसँग आँखा ठोक्काउँछु । ती मेरै वरिपरि छ्यापछ्याप्ती छन् । ती समृद्धिका सपना बाँड्छन् । प्रगतिशीलता फलाक्छन् ।

लुतो फाल्ने, गुरु पुज्ने, खिर खाने, मित्रता दिवस, भू–संरक्षण दिवस, विश्व आदिवासी जनजाति दिवस, युवा दिवस आदि मनाउने महत्वपूर्ण दिन यही साउनमै पर्छन् । यसै महिना घर–घरमा नाग टाँसिन्छ । जैविक विविधताको कुरा गरिन्छ, वातावरण संरक्षणमा जोड दिइन्छ।

‘सर्प बचाऊ’का अभियन्ताहरु पशुअधिकारका रोचक कुरा गर्छन् । भुसिया कुकुरलाई कपडा प्रदान गरिनेबारे पनि पढेकी हुँ । साउनमै तीजको तयारी थालिन्छ । ‘झन् तल झार्छु झन् माथि सर्छ यो मेरो फरिया …!’ गाइन्छ ।

२. लुतो फाल्ने – यसवारे (मात्रै) छोटो चर्चा प्रस्तुत आलेखको अभीष्ट हो । प्रत्येक समयसँग आ–आफ्नै खालका सामाजिक चिन्तन र व्यवहारहरु हुन्छन् । समयले जुन तिव्रताको साथ गति लिन्छ त्यति छिटो समाजमा परिवर्तन आउँछ ।

बदलिएको स्थितिमा पूर्व स्थितिलाई हेर्दा खोटैखोट देखिन्छ । नेपाली साहित्यको प्रगतिवादी फाँटमा यसपाली यो सत्यलाई तथ्यहरुले पुष्टि गरे । २०५ औँ भानुजयन्तीमा नेपाली साहित्यकारका दृष्टिकोण फराकिलो पार्न राज्यले मद्दत ग¥यो नभन्नु कञ्जुस्याँइ होला ।

भानुजयन्तीका २०५ आँै कार्यक्रम र प्रधानमन्त्री केपी ओलीज्यूको अभिव्यक्ति यसबारेका ठोस प्रमाण हुन् । यस अघि सनातनीहरु भानुभक्त आचार्यलाई प्रशंसाले सात आकास उचाल्थे, प्रगतिवादीहरु गालीका छर्रा छरेर पाताल भसाउँथे । ‘महिला बिरोधी हुन्’ का साँेचले ग्रसित थिएँ । भानु जयन्ती कार्यक्रममा जान सकिनँ । सङ्कोचले छेकिएँ । पछि, बादल फाट्योस भानु उदाए ।

घाम त बादलद्वारा थोरै समय मात्रै छेकिँदा रहेछन् । हो, दिवगंत भाषासेवीहरुमा भानुभक्त आचार्य जस्ता विभूति जन्मेका छैनन् । जननेता मदन भण्डारीद्वारा समेत भानुको उच्च मुल्यांकन भएको डा.बद्रीबिशाल पोख्रलेले बताएका छन् ।

लुतो फोहोरले शरीरमा उब्जिने खटिरा हो । जति कन्यायो उति चिलाउने । सफाईले लुतो हट्छ । ‘त्यो’ चिलाईवारे चाहिँ कुसुम भट्टराई लेख्छिन् ‘चिलाउने वित्तिकै कन्याउनु आवश्यक छैन । एकैछिन् खपेपछि चिलाई आफै मर्छ ।’ ए, शंकाले लंका जलाउनेहरु ! तिमिहरु महाकविको –

‘के मण्डुक कराउनु प्रकृतिको पापीपना हुन्छ र ?
गौरीशंकरका नजिक चुचुरा उठ्छन् अरु वामन !’ को उद्धरण प्रशस्त दिन्छौ तर कस्तो बोध लिन्छौ ? किन ‘मण्डुक’ कराउँदा पापिनीको ठाडो बात लगाउँछौ ? आफैलाई माक्र्स–एङ्गेल्सको गुरु ठान्नु अप्ठ्यारो लाग्दैन ? अब लुतो कसरी फाल्ने ? अझै पनि ‘लुतो जा–लुतो जा’ भन्दै बारीतिर अँगार मिल्काईरहने ?

पोखरामा असार ९ गते महेन्द्रपुलबाट हाम फाल्ने एक बरिष्ठ अधिकृतको लास असार २२ गते भिमादमा भेटिएछ । यहाँ रामघाटमा निकै फराकिलो फाँट छ । त्यहाँ वारिपारि बलियो पर्खाल (चेँक ड्याम) को व्यवस्था गरेर पानीको बहाव नरोकिने गरी फलामे छडको बार (ब्रेकर) राख्न सकिँदैन ? त्यसो गर्दा कृत्रिम तालको निर्माण, भूक्षयको रोक, लास खोज्नको सजिलो र फोहोर संकलनको आधार बन्दैन ?

प्राविधिक विषयको जानकारी छैन, मैले आफ्नो काल्पनिकी राखेँ । त्यसो गर्न सकिए पोखराको स्वच्छतामा योगदान पुग्दो हो । पोखरामा बढी पानी पर्छ, हिलो हुँदैन । हिमाली हावा चल्छ र दुर्गन्ध खप्न सकिएको छ।

प्रकृतिप्रदत्त हिमाल र तालबाहेक हामीसँग अरु मानवीय संरचना के छ ? पञ्चहरुले एउटा सभागृह बनाईदिएका थिए, त्यो थोत्रो भइसक्यो । सफाई कर चौपट बढाइएको छ झनैँ चौपट ढङ्गले सडकमा फोहोर बग्न थालेका छन् ।

साउनमा प्रकृति आफ्नो चरम हरियालीमा हुन्छिन् । परम स्वच्छतामा हुन्छिन् । प्रकृति कुमारी युवती जस्तै हुन्छिन् । ‘नुहाउने’ हुँदा दिनदिनै नुहाएर, ७ दिन बारेर ग्रामीण घरको आँगनमा डोको माथि बसेर घाममा कपाल सुकाईरहेकी । इन्द्रधनुषी सपना बुनिरहेकी । पहाडको काँध–काँधमा बादल जस्तै उडिरहेकी ।

जीउमा हरियो बेरेर प्रकृतिको हरियाली बढ्दैन । मन्दिर धाएर पक्कै श्रीमान्को आयु लम्बिँदैन । हाम्रो देशका राजा आँगने, हाम्रै मिलवाडा गाउँ र ७० बर्षे हजुरवाको बुद्धि सपार्न साउनलाई स्वच्छताको महिना बनाउन सकिदैन ? सकिन्छ, पक्कै सकिन्छ । यसका लागि अगुवा स्वयम्ले बाटो फोहोर गर्नु हुँदैन।

प्रतिक्रिया दिनुहोस
Advertisement