देउवा र डा. कोइरालाबीच भयो मेलमिलाप 


काठमाण्डु- नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला र पार्टी सभापति शेरबहादुर देउवाबीचको मनमुटाब अन्त्य भएको छ ।  सोमबार मोरङको हरैंचामा आयोजित चुनावी कार्यक्रममा बोल्दै सभापति देउवा र आफू मिलिसकेको बताएका हुन् ।

उनले यसबारेमा कार्यकर्तालाई विवाद नगर्न सुझाव दिए ।  ‘स्थानीय निर्वाचनमा के भयो, महाधिवेशनमा के भयो, त्यो तपाईंहरु सबैले त्याग्नुस्, मैले त त्यागीसकेंतपाईंहरुले किन नत्याग्ने?’, उनले कार्यकर्तालाई प्रश्न गर्दै भने ।

 १४ औं महाधिवेशनमा सभापतिका लागि देउवा र आफू पक्षधर तलैबाट लड्दै केन्द्रसम्म प्रतिस्पर्धा गरेको उनको भनाइ छ । ‘जब शेरबहादुर देउवा जी र म नै मिलिसकेपछि वडामा तपाईंहरु किन झगडा गर्नुहुन्छ?, किन झगडा गर्नुभएको छ, मैले बुझ्न सकेको छैन ।’

देउवाको लडाइँ अब समाप्त भइसकेको डा. कोइरालाले बताए । गत बैशाखमा भएको स्थानीय तहको निर्वाचनदेखि डा. कोइराला देउवासँग रुष्ट बनेका थिए ।

उनले देउवासँग स्थानीय तहको निर्वाचनमा गठबन्धन नगर्न आग्रह गरे । तर, देउवाले भने उनको कुरा सुनेनन् । त्यसपछि देउवासँग डा. कोइराला रुष्ट बनेका थिए ।

हालै मात्र मंसिर ४ गते हुने संघ र प्रदेशसभाको निर्वाचनमा मनोमानी ढंगले समानुपातिकको सूची तयार पारेको भन्दै उनले विरोध जनाएका थिए । उनले पार्टीभित्र विद्रोह गर्ने चेतावनीसमेत दिएका थिए । तर, आज भने डा. कोइरालाले आफूहरू मिलिसकेको खुलासा गरेका छन् । 

प्रतिक्रिया दिनुहोस
Advertisement