काठमाडौं – राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)बाट राष्ट्रिय सभा सदस्यमा निर्वाचत भएका सांसद शेखरकुमार सिंहले साढे दुई करोड बुझाएर सांसद भएको खुलासा भएको छ ।
सांसद सिंहले साढे दुई करोड रुपैयाँ बुझाएर सांसद बनेको अडियो सार्वजनिक भएको हो । सिंहले माघ ९ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनमा सांसद हुन साढे दुई करोड रुपैयाँ घुस बुझाएका हुन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)सँगको गठबन्धनपछि सिंह निर्वाचित बनेका थिए ।
सुरजीत सिंह र ज्योति झावीच लेनदेनकोे संवाद भएका छन् । अडियोमा सांसद सिंहले राजपाका नेताहरूलाई साढे दुई करोड बुझाएको उल्लेख छ ।
उनीहरू दुईबीच कुराकानी भइरहँदा पूर्वरक्षा सचिव तिलकराम शर्मा पनि मिसिएका छन् । उनीहरूले संवादका क्रममा पूर्वरक्षा सचिव शर्माले सिंहलाई सांसद पदको उम्मेदवार बन्न साढे दुई करोड रुपैयाँको व्यवस्था गरेको उल्लेख छ ।
अडियो प्रकरणमा शरतसिंह भण्डारी, राजेन्द्र महतो, राजकिशोर यादव र अनिल झाकाे नाम उल्लेख छ ।
यस्तो छ तीन जनाबीच भएको दोहोरो कुराकानीः
ज्याति झाः ब्युरोक्रेट्सको एकजना जिम्मेवार व्यक्तिले कमिटमेन्ट गर्नुभएको थियो, अढाई करोडको लागि शेखर अंकलले । फेमली ब्याकग्राउण्ड हेर्दा त जो कोहीले पनि विश्वास गर्न सक्छ कि रकम दिन्छ भनेर । पूर्व रक्षा सचिवलाई जो सिडिओ भएर सप्तरीमा पनि बसेका थिए, उहाँलाई (शेखरले) भन्नुभयो कि तपाई जिम्मा लिइदिनु, म दिइदिन्छु । उहाँले डेढ करोड रुपियाँ म्यानेज गरेर दिनुभयो । अब शेखर अंकलले उहाँको फोन उठाउनु हुन्न । जोसँग पैसा उठाएर दिनु भएको थियो त्यो व्यक्तिले सिडिओलाई प्रेसर दिइरहेका छन् । शेखर अंकलको यसमा के छ भने उहाँले वास्तवमा कमिटमेन्ट गर्नुभएको छ भने एकपटक बस्नुपर्छ, कमिटमेन्ट गर्नुभएको छैन भने तैपनि बसेर भन्दिनुपर्छ कि मेरो त्यस्तो केही छैन । दुई तीनजना आपसमा बसेर टुङ्ग्याउँदा हुन्छ ।
सुरजित सिंहः शेखर अंकलसँग मेरो कुनै कुरा जाँदैन । शेखर अंकलसँग छत्तीसको आँकडा छ ।
ज्योति झाः मलाई थाहा छ । त्यही भएर मैले..
सुरजित सिंहः एकचोटी मलाई उहाँ (तिलक) सँग कुरा गराईदिनुस् न ।
तिलकरामः हेलो
सुरजित सिंहः हजुर नमस्ते
तिलकरामः नमस्कार, तपाईंको बारेमा झाजीबाट थाह पाइहाले क्यारे । केही कुरा भन्नु पनि भयो । म त कति नराम्रो गरि फसियो भने । उहाँ अहिले राष्ट्रियसभा सदस्य भएर मज्जासँग हिँडिरहनु भएको छ । यहाँ म बाटोमा पैसा लिएर मैले जहाँ हो कमिटमेन्ट, त्यहाँ बुझाई दिएँ । त्यो राख्ने कुरा पनि भएन । मलाई जताजतैबाट समातेर जहाँबाट सबै व्यवस्थापन गरेर जुटाएको थिएँ । उहाँ बीचमा एकचोटी चुनाव जितिसकेपछि भाउजु बित्नुभयो कि को बित्नुभयो भनेर बसिदिनु भयो ।
सुजित सिंहः कोई पनि बित्नु भएको थिएन सर ।
तिलकरामः त्यसो भए सबै नाटक रहेछ ।
सुजित सिंहः कति, डेढ करोड उहाँलाई दिलाउनुभयो ?
तिलकरामः जोसँग डेढ करोड लिएँ, त्यो सँगै हुनुहुन्छ । अर्को दुईजनासँग पचास पचास लाख लिएर मैले सिध्याएँ । यहाँ बीचमा म फसेँ । जहाँ मैले कमिटमेन्ट गरेको थिए, त्यहाँ दिनुपर्यो । त्यसबाट बच्ने अवस्था थिएन । उहाँ (शेखर) मेरो फोनै उठाउनु हुन्न । मेरो सम्पर्कमै आउनु हुन्न । कहिले मान्छे म¥यो भनेर बसेँ भन्नुभयो, कहिले के भन्नुभयो, कहिले के भन्नुभयो । म पत्याउँदै गएँ । म आउँछु भन्नुभयो । अहिले त मेरो फोन पनि नउठाउने । हेर्नुस् यो कस्तो नराम्रसँग फसेँ ।
सुजित सिंहः हजुरको के नाम भयो ? हजुरको के नाम ?
तिलकरामः तिलकराम शर्मा ।
सुजित सिंहः ए । तपाईं यहाँ सप्तरी राजविराजमा सिडिओ हुनुहुन्थ्यो ?
तिलकरामः हो हो हो ।
सुजित सिंहः नमस्ते, म सुजित सिंह पवि स्कूल थियो नि, पवि स्कूल । पब्लिक विन्देश्वरी, मेरो हजुरबुवाको नाउँमा ।
तिलकरामः मलाई थाह छ । एउटै फेमलीको रहेछ, ल ।
सुजित सिंहः एउटै फेमली होइन सर ।
तिलकरामः बुझेँ मैले, एउटै क्याटेगोरीको फेमली रहेछ । मैले बुझेँ, मैले थाहा पाइहालेँ ।
सुजित सिंहः शेखर अंकलले तपाईसँग पैसा लिनु भएको छ भने कुनै लिखिछ लिखित दिनुभएको छ कि छैन ?
तिलकरामः छैन, केही पनि छैन । त्यतिको मान्छेलाई भन्नु पनि भएन । माननीय भएर हिँड्ने मान्छे हो । फेरि पहिलेदेखि सम्पर्क भइराख्ने मान्छे हो ।
सुजित सिंहः उहाँ ठूलो मान्छे हुनुहुन्छ । इण्डियन एम्बेसीले उहाँकै कारणले सप्तरीलाई ब्ल्याकलिस्ट गरेको छ, उहाँकै कारणले ।
तिलकरामः हजुर हजुर ।
सुजित सिंहः ठिकै छ, म आउँदैछु काठमाडौं । राज अंकल पनि राष्ट्रियसभाको सदस्य । हाम्रो मृगेन्द्रसिंह यादव, राजबाबु ।
तिलकरामः तपाईहरु एउटै फेमलीको हुनुभयो । राजबाबु होइन ?
सुजित सिंहः हो सर । ठिकै छ । म काठमाडौं आउँदैछु । तपाईहरुको बीचमा मिटिङ गराउँछु ।
तिलकरामः एकदमै ठूलो । हेर्नुस् न । अब के भन्नु र यहाँ सबैमा म फसेँ । यो कारोबार हुँदा मेरो मित्र पनि यो बीचमा हुनुहुन्थ्यो । साक्षी एकजना हुनुहुन्छ । अरु त्यस्तो प्रमाण यताउता केही छैन ।
सुजित सिंहः ल ठिक सर ।
तिलकरामः ल है त । यसो सहयोग गर्नुप¥यो ।
सुजित सिंहः एकदम गर्छु सर । तपाईं ढुक्क भएर बस्नु । म एकदम गर्छु सर । म आउँदैछु सर काठमाडौं । अनि म अध्यक्षज्यूहरुसँग तपाईंको मिटिङ गराउँछु, राजेन्द्र महतोहरुसँग । हाम्रो अध्यक्षज्यू हुनुहुन्छ, शरतसिंह भण्डारी पनि हुनुहुन्छ । उहाँहरुसँग तपाईंको मिटिङ गराउँछु ।
तिलकरामः हुन्छ हुन्छ ।
सुजित सिंहः उहाँले तपाईंलाई पैसा दिनुपर्छ सर । तपाईं ढुक्क भएर बस्नुस् ।
तिलकरामः हुन्छ हुन्छ ।
सुजित सिंहः नमस्कार
तिलकरामः नमस्कार
ज्योति सिंहः हेलो
सुजित सिंहः जी भाईजी । उहाँलाई एउटा कुरा भनिदिनुस् । एकदम चुप लागेएर १०–१५ दिन बस्न भन्नुस् ।
ज्योति झाः मैले कुरा गरेको छु एक ठाउँमा । भन्नुभयो कि, ठिक छ हामी मिटिङ गर्छौँ, त्यसपछि दिनु पर्यो भने व्याज स्याज मिलाएर दिन लगाउने ।
सुजित सिंहः उहाँले नै मलाई भन्नुभयो कि यो कुरा उहाँलाई भन्दिनुस् पूर्व सिडियो साहबलाई कि कुरा बाहिर नल्याउन किनभने यो पार्टीको कुरा हो । पार्टीको बदनामी हुन्छ ।
ज्योति झाः त्यो त धेरै ठूलो बदनाम हुन्छ । कम्युनिस्ट पार्टीको निहुँ खोजी नै रहेका हुन्छन्, सालेहरु ।
सुजित झाः के भनेर लिनुभएको थियो (रकम) ।
ज्योति झाः राष्ट्रिय सभा सदस्य मनोनित हुन्छ ।
सुजित झाः उहाँ (तिलकराम) लाई फोन दिनुस् त उहाँ जानुभयो कि छँदै हुनुहुन्छ ।
तिलकरामः हेलो
सुजित सिंहः सर मैले पार्टीमा मैले कुरा गरिसकेको छु । उहाँहरुले भन्नुभयो, तपाईलाई १०–१५ दिनका लागि पख्न भनेको छ । पार्टीको बदनामी हुन्छ रे । त्यसको कारणले उहाँसँग बसेर छलफल गरेर उहाँको पैसा दिलाउँछौं । उहाँको पैसा दिनुपर्छ । दिएन भने हामीले उहाँमाथि एक्सन लिन्छौं । बुझ्नु भो । १०–१५ दिनको टाइम दिनुस् । म पनि त्यतिबेला काठमाडौं आइहाल्छु । अहिले त कोरोनाको पनि डर छ ।
तिलकरामः कहाँ हुनुहुन्छ अहिले ?
सुजित सिंहः म त अहिले सप्तरीमा छु कोइलारीमा सर ।….विराटनगरमा छु सर
तिलकरामः शेखर काठमाडौं नै हो अहिले ?
सुजित सिंहः हो त्यही हो सर । अहिले राष्ट्रियसभाको सत्र चलिरहेको छ ।
तिलकरामः अलि चाँडै गर्न पाए हुन्थ्यो ।
सुजित सिंहः १० दिनको टाइम दिनुस् न सर । टेन डेज ।
तिलकरामः म फेरि कन्ट्याक्ट गर्छु हजुरलाई ।
सुजित सिंहः अनि सर उहाँ (शेखर) ले के भनेर पैसा लिनु भएको थियो ? के मा दिनुपर्छ पैसा ? चुनाव अगाडि नै दिनुपर्ने कुरा थियो ? राष्ट्रियसभा चुनावको टिकट लिनका लागि होइन ?
तिलकरामः लिनका लागि
सुजित सिंहः राष्ट्रियसभा चुनावको टिकट लिनका लागि होइन ?
तिलकरामः हजुर हो ।
सुजित सिंहः १० दिनको टाइम दिनुस् ।
तिलकरामः ल खबर गर्छु हजुरलाई
सुजित सिंहः १० दिनको टाइम दिनुस् । मैले माथि कुराकानी गरेँ । उहाँहरुले १० दिनको टाइम दिनुभयो । १० दिनको टाइम दिनुस् सर । म आउँदैछु काठमाडौं सर ।
तिलकरामः ल हुन्छ हुन्छ ।
सुजित सिंहः आज कोइलारी आउँछु अनि तीन चार दिनको प्लानिङ्ग बनाएर आउँछु र साथै बसेर एकदिन राजबाबुको घरमा ।
तिलकरामः ल ठिक छ
सुजित सिंहःउहाँलाई दिनुस् त एकचोटी
ज्योति झाः जी भाइजी ।
सुजित सिंहः शर्माजीसँग १० दिनको टाइम लिनु न ।
ज्योति झाः हुन्छ ।
सुजित सिंहः मैले अहिले कुरा गरेको अनिल झासँग…होइन राजकिशोर यादवसँग । महतोजीले फोन उठाउनु भएन कुनै मिटिङमा होला । उहाँहरुले यो पार्टीको बदनामीको कुरा छ । कुरालाई बढी हाइलाइटेड नगरोस् । शेखरबाबुले अढाई करोड रुपियाँ पार्टीलाई दिनु भएको छ । शर्माजीलाई १० दिन बस्न भन्नु । अनि बसेर कुरा मिलाउँला, पैसा दिलाउँला ।
ज्योति झाः कुरा के छ भने भाइजी मेरो ममिया ससुरा हुनुहुन्छ बैतडीमा । उहाँले मलाई बाध्य भएर भन्नुभयो कि यस्तो यस्तो छ । डेढ करोड टका लिनु भएको छ ।
सुजित सिंहः डेढ करोड र पचास–पचास लाख अढाई करोड भयो । कति दिनुभएको छ एकपटक सोध्नुस् त ।
ज्योति झाः अढाई करोड
सुजित सिंहः अढाई करोड रुपियाँ मामुली अमाउन्ट होइन ।
ज्योति झाः जी जी
सुजित सिंहः अहिले मैले उहाँलाई भनेको कि प्रेस कन्फरेन्स गर्नुहुन्छ रिर्पोटर्स क्लवमा । शर्माजीलाई पनि भन्दिनुस् कि बीचमा फोन गरे भने अलिकति धम्क्याई दिनु होला प्रेस कन्फरेन्स गर्छु भन्नुस् ।
ज्योति झाः ठिक छ
सुजित सिंहः ठिक छ राख्छु त ?
ज्योति झाः जी भाइजी
सुजित सिंहः आउछु एक हप्तामा ।
ज्योति झाः जी हेतै आउ न ।
सुजित सिंहः साँझमा म कोइलारी गइहाल्छु ।
ज्योति झाः एकपटक कटैयातिर जमिन हेर्नका लागि जानुपर्छ ।
सुजित सिंहः म आउँछु नि । उताबाट आउनुस् न । दुवै दाजुभाइ सँगै जाने ।
ज्योति झाः जी हुन्छ ।




प्रतिक्रिया